भारतीय दूतावासको सहयोगमा निर्माण थालिएको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको कन्या छात्रावास अलपत्र अवस्थामा छ ।
निर्माण कार्यको जिम्मा लिएर अधिकांश काम सम्पन्न गरेर पनि अन्तिममा केही कामलाई पूरा नगरी त्यसै अलपत्र छोडिएका कारण एकातिर त्यसमाथि भएको लगानी निरर्थक बनेको छ भने अर्कोतर्फ क्याम्पस स्वामित्वको जग्गा पनि ओगटिएर प्रयोगबिहीन बनेको छ । निर्माण कार्यलाई पूरा गरेर छात्रावासलाई सञ्चालनमा ल्याउनका लागि पहल नथालिँदा नवनिर्मित भवन जीर्ण बन्दै जाने, फलाममा खिया लाग्ने तथा भवन वरिपरी झारपातको घारी बनेका कारण यस संरचनाको अवस्था दिनानुदिन बिग्रँदै गएको छ । छात्रावासको निर्माण कार्य पूरा गरेर सञ्चालनमा ल्याउनका लागि पटक–पटक विभिन्न निकायको ध्यानार्कषण, राजनीतिक दल र जनप्रतिनिधिका बीच विभिन्न चरणमा छलफल भईसक्दा पनि अहिलेसम्म यस बारे सार्थक प्रयास हुन सकेको छैन ।
तसर्थ कुन विधि र प्रक्रिया अवलम्वन गरेर यो अधुरो कामलाई पूरा गराउन सकिन्छ, यसका बारेमा अझै प्रयत्नको आवश्यकता छ । छात्रावासको विषयलाई फगत आश्वासन र सस्तो लोकप्रियताका लागि झुठा प्रतिबद्धतामा सिमित राखिरहन मिल्दैन । स्वयम् महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस यति बेला विभिन्न समस्याले गाँजिएको छ । यसले गर्दा यहाँको पठन–पाठन पनि प्रभावित बन्ने गरेको छ । त्यसमाथि छात्रावासलाई लथालिंग पारेर समस्यामाथि समस्या थपिनुलाई उचित मान्न सकिन्न ।