सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ र २ वडा नम्बर २ वडा बालविवाह मुक्त वडा घोषणा भएको छ । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच १ र २ नम्बर वडालाई बालबिवाह मुक्त घोषणा गरिएको हो ।
तिलाठी कोइलाडी गाउँपालिका १ नम्बर वडालाई तुल ब्यानर पढेर बालविवाह मुक्त घोषणा गर्दै गाउँपालिका अध्यक्ष मण्डल । फोटो : न्यूज टुडे
बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदम चाल्दै स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, महिला समूह, बाल क्लब तथा विभिन्न सरोकारवालाको सहभागितामा सामूहिक प्रतिबद्धतासहित घोषणा गरिएको थियो ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष मण्डलले बाल विवाह सामाजिक अपराध भएको उल्लेख गर्दै यसको अन्त्यका लागि केवल कानुन मात्र नभई समुदायको चेतना र सक्रियता आवश्यक हुने बताए ।। बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै यसको अन्त्यका लागि समुदायको भूमिका निर्णायक हुने उनको भनाइ छ । उनले बाल विवाह हुन नदिन वडा स्तरबाट निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि र सम्बन्धित निकायसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बाल विवाह सम्बन्धी कानुनी प्रावधान, यसका दीर्घकालीन असर तथा रोकथामका उपायबारे जानकारी समेत गराइएको थियो । साथै बाल क्लब तथा विद्यार्थीहरूले चेतनामूलक अभिनय प्रस्तुत गरेका थिए ।
सहभागीहरूले बाल विवाह नगर्ने र देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमका क्रममा बाल विवाह सम्बन्धी कानुनी प्रावधान, यसको सामाजिक असर तथा रोकथामका उपायबारे बाल क्लब तथा विद्यालयका विद्यार्थीहरूले चेतनामूलक प्रस्तुति समेत दिएका थिए ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार कर्ण, वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मण्डल, बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह लगायत स्थानीय तहका प्रतिनिधि, विद्यालयका शिक्षक–विद्यार्थी, महिला समूह, अभिभावक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मन्त्वय व्यक्त गरे।