न्यूज टुडे
राजविराज,०५ पुस ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ गोरपार स्थित मुमताजुल उलुम मदरसामा लाखौं अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयले शनिबार पत्रकार सम्मेलन गर्दै निबर्तमान वडा अध्यक्ष मो. जिबिरील र प्रधानाध्यापक मो. उस्मानले नगर शिक्षा शाखाको मिलोमतोमा लाखौं अनियमितता गरेको आरोप लगाएको हो ।
स्थानीय वीच आरोपप्रत्यारोपमा उत्रिएपछि मदरसा देखिएको विवाद उत्कर्षमा पुगेको छ । बस्तीका मुस्लिम समुदायकै एकपक्षका अगुवा र अभिभावकले व्यवस्थापन पक्षमाथि शैक्षिक व्यवस्थापनमा सूचना प्रणाली (इमिस), खाजा भत्ता, छात्रवृती रकम तथा शिक्षक नियुक्ति लगायतका विषयमा अनियमितता गरेको आरोप लगाएपछि मदरसामा उत्पन्न विवाद उत्सकर्षमा पुगेको छ ।
विवादका कारण म्याद सकिएको लामो समय वितिसक्दा पनि अर्को व्यवस्थापन समिति गठन हुन सकेको छैन भने बैंकमा रहेको मदरसाको खाता समेत रोक्का भएको छ ।
यसको प्रभाव पठनपाठन तथा मदरसा आउने विद्यार्थी संख्यामा समेत परेका छ । डेढ महिना अघि ९० विद्यार्थी रहेकोमा विवाद सुरु भएपछि अहिले घटेर सो संख्या २९ मा सिमित भएको छ ।
प्रधानाध्यापक मो. उसमानका अनुसार अहिले मदरसामा बालविकास र कक्षा १ मा १०÷१० तथा कक्षा २ मा ९ गरी २९ जना विद्यार्थीमात्र अध्ययनरत छन् ।
गाउँकै एकपक्षले इमिसको दोहरो कोड प्रयोग गरि विद्यार्थी संख्या बढाएको आरोप लगाएपछि सोको छानविन गरि त्यस्ता नाम हटाउँदा अहिले २९ जना विद्यार्थी मात्र कायम भएको उनको भनाई छ ।
उनले एक पक्षले खाजा भत्ता तथा छात्रवृती लगायतका अन्य विभिन्न शिर्षकमा अनियमितता गरेको आरोपको प्रतिवाद गर्दै सो आरोप निराधार रहेको दावी गरेका छन् ।
स्थानिय एक पक्षले भने जग्गादाता परिवारकै रहेका प्रअ मो उसमान र तत्कालिन मदरसा व्यवस्थापन समितिका अध्यक्ष मो. जिब्रिलको मिली भगतमा विद्यार्थीको इमिस नम्बर देखाएर बार्षिक रुपमा दिवाखाजा, पाठ्यपुस्तक, मौलाना र शिक्षकको तलब लगायतका शिर्षकमा अनियमितता भएको दावी गरेका छन् । स्थानियबासी मो. उमरले नगरपालिकाबाट बार्षिक तीनलाख अनुदान प्राप्त हुने गरेपनि सदुपयोग हुन नसक्दा स्थानिय मुस्लिम परिवारहरुबाट चन्दा उठाएर मदरसालाई सहयोग गरिरहनु परेको गुनासो गरे ।
अर्का अभिभावक मो. दाबुदले कमजोर व्यवस्थापन र आर्थिक अनियमितताका कारण मदरसा प्रति बालबालिको आकर्षण घट्दै गएको भन्दै मदरसामा देखिएको सम्पुर्ण आर्थिक अनियमितता प्रकरणको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरे ।
तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुर्व वडाध्यक्ष मो. जिब्रिलले रमजान बाहेकको अन्य कुनै समयमा खाजा भत्ता र अन्य सुविधा नरोकिएको दावी गरेका छन् ।
कुनै आर्थिक अनियमितता नभएको दावी समेत गरेका उनले आफुहरुको चरित्रहत्या र मदरसालाई बदनाम गर्ने मनसायले मात्र यस्तो दुस्प्रचार गरिएको बताएका छन् ।
कञ्चनरुप नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरी संग जिज्ञासा राख्दा स्थानीयबाट निवेदन आएपछि हाल मदरसाको खाता रोक्का गरिएको बताए । मदरसामा देखिएको विवाद हल गर्न पालिकाले आफ्नो स्तरबाट पहल गरिरहेका तथा आर्थिक अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले अनुसन्धान गरिरहेको उनको भनाई छ ।
स्थानिय समाजसेवी मुमताज अलिले मदरसा भवनका लागि दश कठ्ठा दुईधुर जग्गा निशुल्क उपलब्ध गराएपछि २०७६ सालमा नगरपालिका, वडा कार्यालय र स्थायिनवासीको सहयोगमा उक्त मदरसा भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए ।
अहिले आएर आफ्नै समुदायका दुई पक्षबीच विवाद हुँदा बालबालिकाको पठन पाठनमा समेत असर पारेको भन्दै स्थानीयले यसको सत्यतथ्य छानवीन गरि अविलम्ब समस्या समाधान गर्न माग गरेका छन् ।