केही दिन यता सप्तरीमा पनि मौसम बिग्रन थालेको छ । राम्ररी घाम नलाग्ने गरेका कारणले चीसो बढ्न थालेको छ ।
पुस महिनामा शितलहरको जोखिम पनि बढी हुने भएका कारण विशेषतः विपन्नहरुकालागि यो समय बढी कष्टदायक रहने गर्दछ । कष्टदायक मात्र होईन, विगतका वर्षमा यहाँ चीसोले कठ्यांग्रिएर मानिसको ज्यानै जानेसम्मका घटना भईसकेका छन् । मानिसको जीवनलीला नै चीसोले समाप्त भईसकेपछि राहत बाँड्नेतिर लाग्नुभन्दा यस प्रकोपका कारणले कसैको ज्यानै जान अवस्था नआओस् भन्नेतर्फ सोच्नु बुद्धिमानी हो । त्यसकालागि को को ठण्डीका कारणले बढी समस्यामा छन् भन्ने कुराको वास्तविकता बुझेर उनीहरुलाई चीसोबाट संरक्षण गर्ने उपाय अपनाउनु उपयुक्त हुनेछ । यस्तो समयमा नजिकको सरकारका रुपमा मानिएका स्थानीय तहका जनप्रतिनिधिहरुले विशेष ध्यान पुर्याउन सके भने जाडोका कारण कसैको पनि अकालमा मृत्यु हुने अवस्था आउने सम्भावना कम रहन्छ । चीसो छल्ने खालको न्यानो कपडा,ओढ्ने ओच्छ्याउनेको प्रबन्ध तथा विरामी परेका बखत तत्काल उपचारको व्यवस्था मिलाउन सकियो भने जाडोको कहर कटाउन सहज हुनेछ । प्राकृतिक प्रकोपकै रुप मानिएको ठण्डी लामो समयसम्म रहन्न । तर ठण्डी उत्कर्षमा रहेका समयमा जोगिने उपाय गरिएन भने यसबाट व्यक्तिको ज्यानै तलमाथि पर्न सक्दछ ।
त्यसैले वस्तीका विपन्नहरुको संख्या यकीन गरी उनीहरुको सुरक्षाकालागि आवश्यक प्रबन्ध पहिलेदेखि नै मिलाउन सकियो भने विपद्को सामना गर्नमा पनि सहज हुनेछ । यस्तो विकट परिस्थितिमा स्थानीय तह,स्थानीय प्रशासन,सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था तथा सम्बन्धित सबैले समन्वयका साथ काम गर्न सक्नु पर्दछ ।