न्यूज टुडे
राजविराज,०५ पुस ।
सवारी दुर्घटनामा घाइते उदयपुर चौदण्डीगढी नगरपालिका १ का एक जनाको मृत्यु भएको छ । स्थानीय ३९ बर्षीय दिल कुमार तामाङ(लोप्चे साहिला) को शुक्रबार राती मृत्यु भएको हो ।
उपचार गराएर २ हप्ताअगाडि घरमा ल्याएका तामाङको शुक्रबार राती ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । गत कार्तिक २७ गते मदनभण्डारी मार्ग स्थित धरानबाट बेल्टारतर्फ बा.प्र ०३-०० ज ११४२नम्बरको ई भि गाडीमा घरतर्फ आउँदै गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका ३ नहडा जंगलमा दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेको तामाङलाई नोबेल अस्पताल विराटनगरबाट उपचार गराई मंसिर २२ गते डिस्चार्ज गरेका थिए । अस्पतालले २२ दिनमा ल्याउन भनेको भाइको त्यस अगाडि नै मृत्यु भएको दाजु डम्बर तामाङले बताए ।
कार्तिक २७ गते बुवा साँङ्गा तामाङलाई नोबेल अस्पताल विराटनगरमा उपचार गराएर फर्कने क्रममा दुर्घटनामा परेको भाइलाई सवारी धनीले क्लिकमा सामान्य उपचार गराई अटो चढाएर घर फर्काएको उनले जानकारी दिए ।
अटो चढाएर चौदण्डीगढी नगरपालिका २ नम्बर वडा स्थित गोविन्द तामाङको घरमा कार्तिक २७ गते साँझमा अचेल अवस्थामा पुर्याएपछि खोजतलास गर्दा सवारी दुर्घटनामा परेको खुलेको थियो ।
तामाङको अवस्था थप गम्भीर भएपछि चौदण्डीगढी नगर अस्पताल बेल्टारमा उपचारका लागि भर्ना गरिएको थियो । नगर अस्पतालले तत्कालै थप उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल रेफर गरेका थिए ।
नोबेल अस्पतालमा ४२ दिन उपचार गराइ गत २२ गते डिस्चार्ज भएको उनको बेलबोटे स्थित आफ्नै घरमा मृत्यु भएको थियो । सवारी धनीको लापरबाहीले मृत्युु भएको भन्दै मृतका आफन्तहरुले आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले घटनापछि उपचार गराउन अस्पताल भर्ना गर्नुपर्नेमा लापरबाही गर्ने सवारी चालक तथा धनीलाई कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
मृतक तामाङको शव परिक्षणका लागि नगर अस्पताल बेल्टार ल्याइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी गराएको छ ।