पुसको सुरुवात भईसकेको छ । सामान्यतया पुसको ठण्डी बढी कष्टदायक हुन्छ भन्ने मान्यता छ । तथापि यसपालि अहिलेसम्म मौसम प्रायः सफा नै रहेका कारण विगतको जस्तो उग्र ठण्डी आईसकेको छैन । तर ठण्डीको कहर अहिले नै कट्यो भनेर ढुक्क हुने अवस्था चाहिँ छैन ।
मौसम बिग्रनासाथ अवस्था कष्टदायक हुने भएका कारण त्यसको सामनाकालागि पूर्वतयारीमा जुट्नु पर्ने समयका रुपमा यसलाई लिनु उपयुक्त हुनेछ । घामको तेज कम हुँदा पनि जाडो बढ्ने भएका कारण यसले बढी जसो विपन्नलाई नै बढी प्रभावित तुल्याउँछ । न्यानो कपडा, गतिला ओढ्ने ओच्छ्याउनेको अभाव रहेका कारण उनीहरु नै यसबाट प्रभावित हुने भएका कारण तिनलाई लक्षित गरेर नै तयारी थाल्नु उत्तम हुनेछ । ठण्डी लामो समयसम्म रहँदैन । तर यस्तो कष्टदायक समयमा जोगिन सकिएन भने यसले ज्यानै लिन सक्छ । मौसम बिग्रेका समयमा केही नभए कम्तिमा आगो ताप्नकालागि दाउराको व्यवस्था मिलाउन सकियो भने पनि धेरै हदसम्म जोगिन सकिन्छ । विपन्न समूदायको पहिचान गरी तिनलाई लक्षित गरेर स्थानीय तहहरुले कार्यक्रम वा पूर्वतयारी गर्न सके भने त्यो बढी प्रभावकारी हुन सक्दछ । विपन्न वर्गलाई प्राथमिकतामा राखेर काम गर्न नजिकको सरकारका नाताले पनि स्थानीय तहका जनप्रतिनिधिहरुले चासो लिन आवश्यक हुन्छ ।
समस्या पर्नासाथ जनताको सहयोगमा जुट्न स्थानीय तहका जनप्रतिनिधिकालागि नै बढी सम्भव रहने भएका कारण उनीहरुले यस कुरालाई जिम्मेवारीका रुपमा बुभ्mन सके भने जनताले पनि स्थानीय सरकारको प्रत्याभूति पाउने छन् ।