• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीन बुँदे सहमतिपछि जारी रिले अनशन स्थगित

तीन बुँदे सहमतिपछि जारी रिले अनशन स्थगित
न्यूज टुडे
राजविराज, ०३ पुस । 
आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीद्वारा जारी रिले अनशन स्थगित भएको छ । अर्थमन्त्रालयको प्रतिनिधि र संघर्ष समिति वीच बुधबार भएको तीन बुँदे सहमति पछि रिले अनशनसहितका सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको सभाहलमा भएको दुईपक्ष बार्तामा सप्तरीबासी तथा अनशनरत पक्षको माग बमोजिम अर्थ मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्नको लागि आन्तरिक राजस्व बिभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, करदाता सेवा कार्यालय राजविराजबाट प्रवाह हुँदै आएको सेवाको बैकल्पिक सेवा प्रवाह गर्ने निकायको क्षमता विकास नहुन्जेल र सहज नभएसम्म करदाता सेवा कार्यालय राजविराजले यथावत सेवा प्रवाह गर्ने, छ दिन देखि भइरहेको रिले अनशन तथा आन्दोलन स्थगित गर्ने सहमति भएको संघर्ष समितिका संयोजक मोहन यादवले जानकारी दिए ।

उनले सहमति पछि विगत ९ दिनदेखि संघर्ष समितिको जारी आन्दोलन स्थगित गरिएको बताए । 

‘विगत ९ दिनदेखि हामीले उठाएको आन्तरिक राजस्व कार्यालय स्थापनाको मागलाई लिएर सुरु गरेको चरणबद्ध आन्दोलन आमा सरकारसँग भएको तीनबुँदे सहमतिपश्चात् अस्थायी रूपमा स्थगित भएको छ।’ उनले भने,’हो, हामीले खोजेको पूर्ण उपलब्धि अझै प्राप्त भएको छैन, तर यो सहमतिले हाम्रो मागलाई सम्बोधन गर्ने स्पष्ट बाटो देखाएको छ। हामी अब विजयीको दिशातर्फ दृढतापूर्वक अघि बढिरहेका छौं।’
उनले आन्दोलन सफल बनाउनसाथ सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको लागि अपेक्षा समेत गरे । 
 “यो यात्रामा हाम्रो साथमा उभिएर, हौसला दिएर, समर्थन जनाएर र एक्यबद्धता प्रदर्शन गरेर हामीसँगै हिँड्ने प्रत्येक नागरिकलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।” उनले भने,”तपाईंहरूको यो अमूल्य साथले नै हाम्रो आवाजलाई बलियो बनायो, हाम्रो संघर्षलाई अर्थ दियो र हामीलाई अझ दृढ बनायो। यो आन्दोलन केवल केही व्यक्तिको होइन, यो हाम्रो साझा अधिकार र न्यायको लडाइँ हो। तपाईंहरूको विश्वास र प्रेणा तथा प्रेमले हामी यो लडाइँ जितेरै छाड्नेछौं।’
 संघर्ष समितिका संयोजक यादवले हातेमालो गरेर साथ दिनुहुने सम्पूर्ण प्रिय ” जेनजी” दाजुभाइ-दिदीबहिनी लगायतका दिशा निर्देश गर्नुहुने अग्रजहरुप्रति कृतज्ञता समेत व्यक्त गरे ।