पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चोकमा बुधबार ट्याक्टरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा स्थानीय ६० बर्षिय टिक बहादुर ब्लोन तामाङ गम्भीर घाइते भएका हुन् ।
ठक्कर दिने ट्याक्टर र साइकल । फोटो : न्यूज टुडे
पूर्वबाट-पश्चिम तर्फ जाँदै गरेको ज १ त ८६४ नम्बरको ट्याक्टरले साइकल यात्री तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । खुट्टा तथा शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको तामाङको ठेलिया स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ट्याक्टरले उत्तरबाट दक्षिणतर्फ साइकलमा चढेर आएका तामाङलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । ट्याक्टरको ठक्करबाट साइकलमा पनि क्षति पुगेको स्थानीयले बताए ।
घाइते तामाङको अवस्था सामान्य रहेको तथा ठक्कर दिने ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।