न्यूज टुडे
राजविराज, ०२ पुस ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध सप्तरीका जनप्रतिनिधिहरु तथा व्यापारी व्यवसायीहरुले थालेको रिले अनशनमा उज्यालो नेपाल पार्टीले समेत समर्थन जनाएका छन्। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवम् सप्तरी- काठमाडौं सम्पर्क मञ्चका संयोजक डा. दिपक चौधरीसहित नेताहरुले राजविराज स्थित गजेन्द्र चौकमा जारी छैठौं दिनको रिले अनशनमा बुधबार सहभागी हुँदै एक्यवद्धता जनाएका हुन् ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा स्थापना गर्ने माग जायज भएकोले संघर्षका कार्यक्रममा एक्यवद्धता जनाएको डा. चौधरीले बताए ।
उनले बर्तमान मन्त्री मण्डलमा पार्टीको संरक्षक घिसिङ समेत सदस्य रहेकाले माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।
रिले अनशनमा केन्द्रीय इन्जिनियर तेज नारायण यादव, काठमाडौ-सप्तरी सम्पर्क मञ्चका सह संयोजक हर्ख नारायण चौधरी, सचिब बेदानन्द साह र सह सचिब इन्द्र कुमार चौधरीलगायतका स्थानीय नेताकार्यकर्ताहरु सहभागी भएका थिए ।
जेनजी पुस्ताद्वारा जारी संघर्षका कार्यक्रमलाई समर्थन गर्दै राजविराजमा स्थित गजेन्द्र चौकमा शुक्रबारदेखि विभिन्न नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष,, सप्तरी उधोग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, मविव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन, पूर्व मन्त्री उमेश कुमार यादव, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा व्यापारी व्यवसायीले सुरु गरेको रिले अनशन छैठो दिन बुधबार पनि जारी रहेको छ
“सुन सरकार सप्तरीबासी सब क आवाज” आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख व्यानरसहित जेनजी पुस्ताका युवाहरूको साथमा शुक्रबार विहान १० बजेदेखि जारी अनशन रातिपनि सोही ठाउँमा बसेर छैठौं दिनपनि निरन्तरता दिएको संघर्ष समितिका संयोजक मोहन यादवले बताए ।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुर्नस्थापना गरिएको थियो ।
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ ।
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएपछि राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग राखी सप्तरीका उधोगी व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता चरणब्म्बद्व आन्दोलनका उत्रिएका छन् ।