न्यूज टुडे
राजविराज,०२ पुस ।
विदेह फाउण्डेशनद्वारा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने भएको छ । आयोजकले राजविराजमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक विदेह फाउण्डेशनका संस्थापक एवम् राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले तिलाठीमा पुस ६ गते भव्य कार्यक्रम आयोजना गरि विश्व ध्यान दिवस बनाउने बताए । उक्त अवसरमा विश्व ख्याति प्राप्त आचार्य श्री सत्यन्द्र कुमार जीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
स्थानीय दुखमोचन आश्रममा ध्यान, भजन किर्तन लगायतका कार्यक्रम गरि दिवस मनाउन लागिएको बताउँदै ठाकुरले कार्यक्रममा उत्साहपूर्वक सहभागीता लागि आम सप्तरीबासीलाई आग्रह गरे ।
कार्यक्रमले जिल्ला र सप्तरीलाई विश्वमा चिनाउनुको साथै मानव जीवनमा विकारल हुँदै गएको तनाव न्यूनीकरणमा सहयोग पुर्याउने उदेश्यले विश्व ध्यान दिवस सप्तरीमा आयोजना गर्न लागिएको बताए । स्वर्गीय पिताको स्मृतिमा निर्माण गरिएको आश्रमको प्राङ्गणमा कार्यक्रम आयोजना हुने बताउँदै उनले दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनले दिवसको सफलताका लागी प्रचारप्रसारमा सहयोग गरि दिन संचारकर्मी तथा आम सप्तरीबासीलाई अनुरोध समेत गरे ।
निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले सिमा क्षेत्रमा बढ्दै गएको लागूऔषध दुर्व्यसनीबाट युवा पुस्तालाई टाढा राख्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिन् । कुलतमा परेका युवा जमातलाई अध्यात्मिक ज्ञान दिएर सकारात्मक दिशामा अगाडि बढाउन कार्यक्रमले टेवा पुग्ने उनको भनाइ छ ।
उनले कार्यक्रम विशुद्ध मानव सेवामा समर्पित भएको तथा स्वास्थ्यको दृष्टिकोणले पनि अतिमहत्वपूर्ण भएकोले यसको उपयोग गरि लाभ लिन सबैलाई आग्रह गरिन ।