न्यूज टुडे
राजविराज, ०१ पुस ।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्व मन्त्री उमेश कुमार यादवले करदाता सेवा कार्यालय राजविराजलाई सार्ने गाभ्ने भन्दा पनि आन्तरिक राजस्व कार्यालयको रुपमा स्थापना गर्नुपर्ने बताएका छन् । आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीद्वारा राजविराजमा जारी पाँचौ दिनको रिले अनशनलाई समर्थन गर्न अनशन बसेका उनले यस्तो बताएका हुन् ।
आन्तरिक राजस्व कार्यालय राजविराजमा स्थापना गर्नुपर्ने सप्तरीबासीको चाहाना मात्र होइन आवश्यकता भएको बताउँदै उनले बर्तमान सरकार जनविरोधी भएको भन्दै आक्रोश पोखे ।
सरकारको निर्णय विभेदकारी भएको भन्दै कुनैठाँउ एउटै जिल्लामा दुइ वा दुइभन्दा बढी आन्तरिक राजस्व कार्यालय हुँदा सप्तरीमा एउटा किन राख्न नमिल्ने भन्दै प्रश्न गरे । भौतिक पूर्वाधारसहित हरेक दृष्टिकोणले कुनै पनि कमि अभाव नरहेको उल्लेख गर्दै हाल संचालनमा रहेको करदाता कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।
देश भरका ३७ करदाता कार्यालयलाई आन्तरिक कार्यालयमा गाभ्नु भन्दा सरकारी मापदण्ड पूरा भएकालाई आन्तरिक राजस्व कार्यालय बनाउनु उचित हुने उनको भनाइ छ ।
उनले शान्तिपूर्ण आन्दोलनबाट माग पुरा नभए आमरण आमरण अनशन र पूर्वपश्चिम लोकमार्ग केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिए ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध सप्तरीका जनप्रतिनिधिहरु तथा व्यापारी व्यवसायीहरुले थालेको रिले अनशन पाँचौ दिन पनि निरन्तरता पाएको छ ।
जेनजी पुस्ताद्वारा जारी संघर्षका कार्यक्रमलाई समर्थन गर्दै राजविराजमा स्थित गजेन्द्र चौकमा पूर्व मन्त्री यादवको नेतृत्वमा पूर्व साँसद, विभिन्न नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा राजनीतिककर्मी, व्यापारी व्यवसायी मंगलबार रिले अनशनमा सहभागी भएका थिए।
आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आयोजनामा जारी विरोधका कार्यक्रममा यसअघि जिल्ला समन्वय समितिका प्रमुखसहित १८ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, सप्तरी उधोग वाणिज्य संघका अध्यक्षसहित उधोगी व्यवसायीहरु, स्वतन्त्र विद्यार्थी युनियन, निर्माण व्यवसायी तथा नागरिक अगुवाहरु रिले अनशनमा सहभागी रहेको संघर्ष समितिका संयोजक मोहन यादवले बताए ।
“सुन सरकार सप्तरीबासी सब क आवाज” आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख व्यानरसहित जेनजी पुस्ताका युवाहरूको साथमा शुक्रबार विहान १० बजेदेखि जनप्रतिनिधिहरु, व्यवसायीहरुले रातिपनि सोही ठाउँमा रिले अनशनमा बसेको संयोजक यादवले बताए ।
राजविराज स्थित रहेको करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा स्तर वृद्धि गरी स्थापना गर्नुपर्ने माग राखी जेनजी अगुवाहरुले सुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै अनशनमा बसेको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए । उनले करदाता सेवा कार्यालय सार्ने सरकारको निर्णय संघीयता र सप्तरीबसी विरोधी रहेको भन्दै निर्णय सच्याउन संघीय सरकारसंग माग गरे ।
यसलाई कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने बताउँदै सहभागी पूर्व साँसद, जनप्रतिनिधि तथा व्यापारीहरुले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
संघर्ष समितिद्वारा घोषित ७ रिले अनशनमा सहभागी भइ समर्थन तथा सद्भाव जनाएकोमा धन्यवाद व्यक्त गर्दै संघर्ष समितिका संयोजक यादवले आन्दोलनलाई थप सशक्त बनाउन जिल्लाका नागरिक समाज, पत्रकार, जनप्रतिनिधि विभिन्न राजनीतिक दल, संघसंस्था,सरकारी कर्मचारी तथा आम सप्तरीबासीलाई आव्हान गरे ।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो ।
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ ।
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएपछि राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग राखी सप्तरीका उधोगी व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता चरणब्म्बद्व आन्दोलनका उत्रिएका छन् ।