• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अहिले पनि नेपाली समाजमा वालविवाह बिरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिँदै छन् ।
स्थानीय स्तरमा पनि वालविवाहमुक्त घोषणाकालागि अभियानै चलाईने गरेको छ । यस प्रकारका अभियानमा धेरैजसो गैरसरकारी संस्थाहरुको सहभागिता हुने गरेको छ । जहाँसम्म वालविवाहको कुरा छ,यसको प्रमुख कारण भनेको चेतनाको अभाव नै हो । चेतनाकालागि शिक्षाको अपरिहार्यता छ । तर गरिबी तथा चेतनाकै अभावका कारण कतिपय अभिभावकले वालवालिकालाई विद्यालय पठाउनेतिर भन्दा पनि काम(श्रम) गर्नेतर्फ आफ्ना वालवालिकालाई लगाउने गरेको अहिले पनि भेटिन्छ । विपन्नताका कारण श्रम नगरी विहान बेलुका हातमुख जोर्न सम्भव नहुने गरेका कारणले पनि वालश्रम समाजबाट अझै हट्न नसकेको भन्दा अन्यथा नहोला । फेरि विपन्न वालवालिकाको पठनपाठन हुने भनेको सामूदायिक विद्यालयमा नै हो । निजी विद्यालयमा महँगो शुल्क तिर्न अभिभावकको क्षमताले नभ्याउने भएका कारणले सामूदायिकमा नै आफ्ना वालबच्चा पठाउने बाध्यता छ । तर अधिकांश सामूदायिक विद्यालयको पठनपाठन प्रति स्वयम् अभिभावकहरु नै सन्तुष्ट हुन नसकिरहेको तीतो यथार्थलाई पनि नकार्न सकिन्न । सामूदायिक विद्यालयहरु आफैं अनेक समस्याले ग्रस्त रहेका कारण यसको प्रत्यक्ष प्रभाव पठनपाठनमा पर्ने नै भयो ।
तसर्थ एउटाको कडी अर्कोसित जोडिएको यस प्रकारको अवस्थामा फेरि पनि शिक्षाको उत्थानमा जोड दिनाका साथै वालवालिकालाई काममा होईन,पढ्न पठाउने तर्फ जागरण पैदा गरिनु पर्ने हुन्छ । शिक्षाको स्तर बृद्धि भएमा सामाजिक कुरिति पनि क्रमशः आफैं न्यूनीकरण भएर जानेमा आशंका रहने छैन ।