• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मानव अधिकार रक्षक सञ्जालद्वारा मानव अधिकार उलंघन विरुद्ध अभियान चलाउने 

मानव अधिकार रक्षक सञ्जालद्वारा मानव अधिकार उलंघन विरुद्ध अभियान चलाउने 
न्यूज टुडे
राजविराज, १५ मंसिर ।
कोशी प्रदेशमा गठन गरिएको मानव अधिकार रक्षक सञ्जालले मानव अधिकारका समस्या पहिचान गर्ने निर्णय गरेको छ ।महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षणका लागि गठित सञ्जालको सोमबार सम्पन्न पहिलो बैठकले मानव अधिकारका समस्या पहिचान गर्ने निर्णय गरेको हो ।
शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारको सवालमा पैरवी गर्न गठित प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठकले लैङ्गिक हिंसा विरुद्वको १६ दिवसीय अभियान आआफ्नो जिम्मेवारी अनुसार मनाउने, विराटनगर महानगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेदका मुद्दामा समस्या पहिचान गर्ने निर्णय गरेको जनाएको छ ।  बैठकले मानव अधिकारका समस्या पहिचान गरेका आधारमा आगामी कार्ययोजना तय गर्ने सञ्जालका संयोजक देबी बाँस्कोटाले बताइन् । 
संयोजक बाँस्कोटाको अध्यक्षता एवम इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सञ्जालको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गर्ने, अधिकार सम्बन्धी समकालिन विषयमा प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुसँग संवाद, छलफल कार्यक्रम तय गरेको एक सदस्यले बताए ।
बैठकमा इन्सेक कोशी प्रदेशका संयोजक पोखरेलले जनतालाई नै सचेत र सशक्त बनाएर स्थानीय तथा प्रदेश तहमा प्रदान भइरहेको सेवा प्राप्तिमा राज्यलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिए ।  उनले समाजमा सुशासन सुनुश्चित गर्न सामाजिक परिचालन एवम् नीतिगत पैरवी र न्यायका लागि पहलकदमी गर्न र मानव अधिकार हनन भइरहेको विषयमा निगरानी बढाउन आवश्यक रहेको बताए । 
प्रदेश र स्थानीय सरकारलाई कानून निर्माण, कार्यान्वयन र आवश्यक विषयमा दबाब सिर्जना गर्न प्रदेशस्तरीय सञ्जाल गतिलो माध्यम बन्न सक्ने संजालमा आबद्ध सदस्यहरुले बताए । मानव अधिकारका मुद्दा स्थापित गर्नका लागि विभिन्न विषयगत क्षेत्रमा क्रियाशील मानव अधिकार रक्षकहरुलाई विराटनगरमा मंसिर २ गते भेला गरेर इन्सेक कोशी प्रदेशले मानव अधिकार रक्षक सञ्जाल गठन गरेको थियो । 
सञ्जालमा शिक्षक, वकिल, पत्रकार, बाल क्लब, युवा, दलित, यौनिक अल्पसंख्यक, महिला, अपाङ्गता, क्षेत्र र अल्पसंख्यक समुदायको प्रतिनिधित्व रहेको छ ।