न्यूज टुडे
राजविराज,०४ मंसीर ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एबम् पूर्व सिँचाइमन्त्री उमेश कुमार यादबले राज्यले सुबिधा दिन खोलिएका कार्यालयहरु कुशासन र भ्रष्टाचारको अड्डा बन्न पुगेको टिप्पणी गरेका छन्। राजविराजबसीको पीडाको सवाल सम्बन्धि सामाजिक संजालमा बिहीबार ९ बुँदे लामो स्टाटस लेख्दै नेता यादवले जनताले राज्यबाटै सुशासनको अनुभुती गर्न नपाएको तिखो टिप्पणी गरेका हुन्।
‘हिजो राजबिराजको एउटा प्रतिष्ठित ब्यबसायी र आर्थिक कारोवारीसंगको सम्वादमा उठेको सवालहरु’ भन्ने शीर्षकबाट लेख्न शुरू गरेका नेता यादवले राज्य जनताप्रति कति उत्तरदायि तथा जिम्मेवार छन् भन्ने गम्भीर प्रश्न उठाएका छन्।
कस्ता सवाल गरेका छन् ? नेता यादवको शब्दमा जस्ताकैतस्तै
१.केही रकम तिरेर बिटोरीको नाममा राजबिराज स्थापना कालमा पाएका जग्गा हालसम्म जग्गाधनीको नामबाट लालपुर्जा बनेको छैन । पहिले त्यहीँ जग्गा राखेर बैंकसंग हुने कारोबार रोकिएको छ।आफ्नै सम्पत्ति ,घरमा घरपरिवार कहिले के हुने हो भन्ने चिन्ताले पैदा हुने मानसिक र शारीरिक समस्या बढदै गइरहेको छ।
२. प्लानिङ्ग अनुसारको शहरको सार्वजनिक जग्गाको अतिक्रम ,ब्यापार क्षेत्रमा निरन्तर ओरालोले ब्यबसायीहरुको निरन्तर बढी रहेको पलायन ,लागूपदार्थ तथा दुर्ब्यसनीहरुको संख्या ,कुनै पनि क्षेत्रमा हब बन्न नसकिरहेको अवस्था ,अस्पताल देखि शैक्षिक क्षेत्रको दुर्गतीले थप निराशा बनाएको छ।
३. रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठन देखि मधेस कृषि बिश्वबिधालयमा जस लिने होडबाजीमा भइरहेको खिचातानी र राज्यको उदासीनताले पारेको पिडा र चित्त दुखाइको छुट्टै कथाब्यथा छ।
४. कर कार्यालयको आफ्नै जग्गा ,भवन रहेकोमा संबैधानिक संसदीय राजतन्त्र कालमा कर कार्यालय लगायत अन्य कार्यालय सार्ने काम गरेर सिंहदरबारले बक्र दृष्टिकोण लगाएका थिए । पछिल्लो चरणमा सम्मानित शुशिला कार्कीको सरकारले पुनः त्यहीँ रबैया अपनाएको हो कि भन्ने चिन्ता थपिएको छ।हैन भने राजबिराजमा आन्तरिक राजस्व कार्यालय स्थापना किन गर्दैन ?
५. सिमासंग जोडिएको बजार र हाम्रो राजबिराज बजारमा भान्सामा दैनिक प्रयोग हुने खाद्य सामाग्री तथा कपडाको मुल्यमा रहेको अन्तरले उपभोक्ताहरुको आकर्षण पारीको बजारतर्फ बढी हुन्छ ।यहाँको उपभोक्ता किसान ,श्रमिक ,मध्यम बर्गीय रहेको छ।जसको गोजी रितिएको छ। गरिबी र अभावले उपभोक्ता आफ्नो गुजारा चलाउन सस्तो खोज्नु स्वभाविक हो।तर ,हामीले राज्यलाई कर तिर्छौं ,राज्य अभिभावक एवम संरक्षक हुनुपर्नेमा पूर्वाग्रही बनी दिदा ब्यबस्थित शहर आफ्नो पिडाको आँसु एबम दर्दले ब्यथित बनेको छ।यो समस्याको हल राज्यले गर्नुपर्ने हो।
६. राजबिराज को मुख्य सडक को घरहरू हजुरबुबाले बैंकमा राखेर लिएको ऋणले थालेको ब्यापार फस्टाउन नसक्दा नाति सम्म आउँदा पनि ऋण मुक्त हुन नसकेको अथाहा पीडाबाट गुज्रिरहेको छ।एकातर्फ जग्गा बिटोरीको कारणले आफ्नोमा दर्ता हुन नसकेको र अर्को तर्फ बाजेको पालाको ऋण भार त्यसै छत माथि रहेको ,ब्यबसाय खस्कदै गइरहेको चिन्ताले कस्तो समस्याहरु पैदा भएको छ भन्ने कुरा अनुमान भन्दा बढी रहेको स्थिति छ।बाहिर बाट हेर्दा आरामले , आनन्दले जीवन चलिरहेको देखिन्छ भन्ने अन्तर्यमा पिडाको भारले थिचिएका छन् ।
७. जब एउटा ब्यबसायी,हुने खाने भनिएकाहरुको अवस्था यस्तो छ भने सुकुम्बासी ,मजदुर ,गरिब ,किसानको अवस्था कस्तो होला ? भनेर सहजै अनुमान गर्न सकिन्छ ।यहाँको किसान र श्रमिकलाई राज्यले धनी बनाउने योजना नल्याए सम्म यहाँको ब्यबसायीको पिडा कम हुदैनन् ।तसर्थ एक अर्काको समस्या बारेमा बोल्न ,लेख्न र संघर्ष गर्न पुनः एकताबद्व भएर लागौं ।
८. यहाँ कुनै सरकारी कार्यालय छैन ,यहाँ सम्म न्यायिक निकाय समेत ,जहाँ घुस नदिइकन काम गराउन सकियोस् । राज्यले सुबिधा दिन खोलिएका कार्यालयहरु कुशासन र भ्रष्टाचारको अड्डा बन्न पुगेको छ।स्थानीय सरकार देखि प्रदेश सरकारले पैसा लिएर योजना बनाउने र बेच्ने गर्दा रहेछन् ।कतिपय पढेलेखेका बेरोजगारीहरु र राजनीतिक कार्यकर्ताहरु समेत यस्तोमा लाग्न बिबश छन् ।
९. राजनीतिक दलका शिर्ष नेताहरु आफुलाई केन्द्रबिन्दुमा राखेर बोल्ने ,गर्ने र निर्णय लिने गर्दछ। संसदीय मुल्य ,मान्यता विरुद्ध दुई ठुला पार्टीले सरकार बनाउने ,आफ्नै सरकार भत्काउने जस्ता काम , निर्वाचनमा एउटा समीकरण बनाउने र निर्वाचन पछि अर्कै समीकरण बनाएर जनादेशको अपमान गर्ने कामले नेताहरु आफुलाई सर्वोपरि ठानेको पुष्टि गरेका छन् ।जसको नकारात्मक असरले वितृष्णा पैदा गरेको छ। जनताले जनप्रतिनिधि छान्छन तर जनप्रतिनिधि कसरी हतियार बन्न पुग्छन ? भन्ने तिखो प्रश्न संगै हाम्रो सम्वाद स्थगन भयो ।’