• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महादेवाका कृषि सडक उपभोक्ता समितीका पदाधिकारीसहित सात जाना विरुद्ध मुद्दा दायर

महादेवाका कृषि सडक उपभोक्ता समितीका पदाधिकारीसहित सात जाना विरुद्ध मुद्दा दायर
न्यूज  टुडे 
राजविराज, १८ कात्तिक  ।
सप्तरीको महदेवा गाउँपालिकामा कृषि सडक निर्माणमा अनियमितता गरेको भन्दै उपभोक्ता समितिका पदाधिकारीस्शित  सात जना विरुद्ध मंगलबार  विशेष अदालतमा मुद्दा  दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कम्पनी सहित सात जना उपर विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।
 कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, कृषि अर्थ विज्ञ-योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत चक्र प्रसाद अधिकारी उपर आरोप-पत्र दायर गरिएको  अख्तियारद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा वडा नम्बर २, कजौलीका अध्यक्ष हरि नारायण यादव, सचिव गगांराम यादव र कोषाध्यक्ष सावित्री देवी यादव, कृषि  विकास  निर्देशनालय, नक्टाझिज, धनुषाका  परामर्शदाता  किरु इन्जिनियरिङ्ग  कन्सल्टेन्ट प्रा.लि. र सो प्रा.लि.का  प्रोप्राइटर  हरिश कुमार सिंह उपर आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ । 
गाउँपालिकाको वडा नम्बर २ स्थित दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको अख्तियारले मंगलबार विशेष अदालतमा दायर गरेको आरोप-पत्रमा उल्लेख छ । 
आर्थिक बर्ष २०७७-०७८ मा कृषि सडक निर्माणका लागि कृषि विकास निर्देशनालय धनुषाको नेपाल सरकारबाट प्राप्त २३ लाख ५२ हजार आठसर ६९ रुपैयाँ ६६ पैसा बजेट स्वीकृत भएको र  सम्झौताको शर्त र मापदण्ड अनुसार काम नभएपनि प्राविधिकको प्रतिवेदन, नापी किताव, रनिङ्ग विल, कार्य सम्पन्न प्रतिवेदनको आधारमा कृषि विकास निर्देशनालय धनुषाले उपभोक्ता समितिको नाममा मिति २०७८ असार २१ गते मा १८ लाख २२ हजार छ सय एक रुपैयाँ भुक्तानी दिएको विज्ञप्तिमा उल्लेख छ।
अख्तियारको प्राविधिक टोलीले सो कृषि सडक निर्माण आयोजनाको स्थलगत नापजाँच  गर्दा ६ लाख ९० हजार छ सय ५७ रुपैयाँ पाँच पैसा  बराबरको रकम प्रतिवादीहरुको मिलोमतो र संलग्नतामा कृषि विकास निर्देशनालयलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएकाले जनही ६ लाख ९० हजार ६सय ५७ रुपैयाँ ५ पैसाको दरले भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो तथा बिगो बमोजिमको जरिवाना असुल उपरको मागदाबी सहित आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानले जारी गरेको विज्ञप्तिमा  जनाइएको छ  ।