अग्नीसाईर कृष्णसवरण गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएको समाचार विभिन्न सञ्चार माध्यममा आएको छ । यसैगरी सामाजिक सञ्जालमा समेत उनले उपाध्यक्षलाई सम्बोधन गरी दिएको राजीनामा स्वीकृत समेत गरिसकेको पत्र सार्वजनिक गरिएको छ ।
उता अध्यक्ष चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै आफूले राजीनामा नदिएको, आफ्नो नामबाट दिएको राजीनामा पत्रमा किर्ते हस्ताक्षर गरिएको दावी गरेका छन् । त्यसका लागि आफू कानूनी उपचारमा जाने व्यहोरा समेत प्रेस विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष चौधरीले एक पटक आफूले गरेको निर्णयलाई पछि आफैले विगतमा खण्डन गरेका कुराहरु पनि उति बेला नै सार्वजनिक भईसकेका छन् । गरेको निर्णयमा अडन नसक्दा विगतमा पनि विवाद नभएको होईन । अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा जनप्रतिनिधिका बीच सामञ्जस्य र सहमतिको अभावका कारणले थरिथरिका विवादको सिर्जना भईरहेको छ । विवादै विवाद तथा पटक–पटकको आन्दोलनले गर्दा समस्या थप जटील बन्दै गएको छ ।
जनप्रतिनिधिको दायित्व बोधका साथ विवादित काम गर्ने परिपाटीमा सुधार गर्दै गाउँपालिकाले सम्पादन गर्नुपर्ने विकास निर्माण लगायतका काम सुचारु गर्न जरुरी छ ।