उत्तम आचार्य
कन्चनरुप , २० कात्तिक ।
सप्तरीको कन्चनरुप ९ रुपनगरका ५९ बर्षिय कृष्णराज चापागाई ७ दिनदेखि बेपत्ता भएका छन् । भान्जिको बिवाहको लागि परिवार सहित भारतको बथनाहा हुँदै दिल्ली गएका चापागाईं सोही ठाउँबाट कार्तिक १३ गते हराएका हुन् ।
उनी हराएपछि सम्पुर्ण परिवारजन र आफन्तहरु चिन्तामा डुवेका छन् । उनका परिवारले खोजि कार्यमा सहयोग गरि दिन सबै पक्षसंग अपिल समेत गरेका छन् ।
चापागाईं तिहारको भोलि पल्ट भान्जिको बिवाहको लागि परिवार सहित भारतको बथनाहा हुदै दिल्ली गएका थिए ।
१३ गते बिहीबारका दिन दिल्लीको फरिदावादको पार्टी प्यालेसमा भान्जीको बिवाह सम्पन्न भइ सकेपछि भोलिपल्ट शुक्रवार साझ ६.३० बजेको समयमा होटेलमा सबैजना चिया खाने क्रममा उनि होटेलबाट तल झरी कता गए अहिलेसम्म अत्तोपत्तो नभएको उनको श्रीमति उर्मिला चापागाईंले जानकारी गराइन ।
‘हराउनु भएको ७ दिन भयो, उहाँलाई अहिसम्म भेटिएको छैन’ उर्मिला आँखाबाट आसु झार्दै भन्छिन्,’ आफ्ना भएको सबैठाउँ पुगिसक्यौ तर उहाँ कसैको सम्पर्कमा हुनुहुन्न, वहा हराएको दिनदेखि चुल्होमा आगो बलेको छैन, चिन्ताले खान खाने मन कसैलाई लाग्दैन ।’
श्रीमानलाई कतैपनि नभेटेपछि संचारककर्मी, मानव अधिकारकर्मी , नागरिक समाज , नेतागण लगायत सबै सरोकारवाला निकायहरुसंग खोजि कार्यमा सहयोग गरिदिन उर्मिलाले आग्रह गरिन ।
अहिले चापागाईंको परिवार लगायत सिङ्गो समाज चिन्तामा डुबेको छ । उनी सुगर र अलजाइमर ( बिर्सिने ) रोगको बिरामी थिए ।