• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘मैले राजिनामा गरेको विषयमा सत्यता छैन’ :   अध्यक्ष चौधरी

‘मैले राजिनामा गरेको विषयमा सत्यता छैन’ :   अध्यक्ष चौधरी
न्यूज  टुडे
राजविराज, १९ कार्तिक । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले  आफुले पदबाट राजिनामा दिएको विषयमा सत्यता नरहेको दावी गरेका छन् । वडा नम्बर १ जण्डौल स्थित रहेको अध्यक्षको सम्पर्क कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दावी गरेका हुन् । 
 पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले आफुले राजिनामा नदिएको दावी गरेका छन् । उनले राजिनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको जिकिर गर्दै यदि भएपनि आफुलाई झुक्याएर हस्ताक्षर गराएको हुन सक्ने आशंका व्यक्त गरे ।
‘ मलाई पनि सामाजिक संजालमा राजीनामा पत्र सार्वजनिक भएपछि मात्र थाह भयो’ उनले भने, मैले राजिनामा दिएको विषयमा कुनै सत्यता छैन, राजिनामा पत्रमा मेरो दस्तखतसंग मिल्छ पनि  तर मेरै दस्तखत हो भने पनि मलाई झुक्याएर यस्तो षड्यन्त्र गरेको हुन सक्छ, पदबाट राजिनामा दिने मेरो मनसाय हुँदै होइन ।’
यदी मैले स्वैच्छिक राजिनामा दिएको भए तथा राजिनामा दिएको थाहा पाएको हुन्थ्यो भने  गाउँपालिकाको बैठकमा किन सहभागी हुन्थे होला भन्दै उनले प्रश्न समेत गरे । 
राजनीतिक प्रतिशोध लिन नक्कली राजिनामा पत्र लेखी कृते सही गरि षड्यन्त्र गरेको अध्यक्ष चौधरीले  पत्रकार सम्मेलनमा बताए । उनले वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादवको योजनामा यस्तो फँसाउने प्रपन्च रचिएको आरोप लगाए ।  उनले यसमा उपाध्यक्ष कल्पना कुमारी चौधरीसहित अरु कसैको हात नभएको स्पष्ट पारे । 
मन्त्रालयले तोकेको प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार चौधरी ८४ दिन हाजिर नभएको पाएपछि उनलाई अस्वीकार गर्दा  उनैलाई अख्तियारी दिन दवाव आउने भएपछि मंगलबार उपाध्यक्षसहितकाले फोन गर्दा नउठएको झोकमा बदलाको भावना लिएर यस्तो जालसाजी गरेको उनको भनाइ थियो । 
आफुमाथि ठूलो षड्यन्त्र भएको भन्दै उनले पहिले आन्तरिक सहमतिबाटै विवाद समाधान गर्ने प्रयासमा लाग्ने यदी त्यसमा सहमति नभए अदालत जाने बताए । 
प्रमुख प्रशासकीय अधिकृत चौधरी शारीरिक रुपमा असक्षम हुदाहुदै पनि आफू हाजिर गराउन तयार भएर जाँदा मन्त्रालयले पठाएको पत्रमा चलानी नम्बर नमिलेको तथा धेरैदिनसम्म कार्यालयमा हाजिर नभएको पाइएकाले  उनलाई हाजिर गर्न अस्वीकार गरेको अध्यक्ष चौधरीले बताए । 
असोज ५ गते  अध्यक्ष चौधरीले दिएको लिखित राजिनामा मंगलबार उपाध्यक्ष कल्पना कुमारी चौधरीले स्वीकृत गरेको पत्र सार्वजनिक भएको थियोे । 
गाउँपालिका अध्यक्ष ज्यूले आफू समक्ष दिएको राजिनामा मंगलबार भएको कार्यपालिका बैठकमा निर्णायार्थ प्रस्ताव पेश गरी बहुमतले राजिनामा स्वीकृत  भएपछि अध्यक्षले दिनु भएको राजिनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना कुमारी चौधरीले निर्वाचन आयोगलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । 
नेपालको संविधान २०७२ को धारा २१५ को उपधारा (८) क बमोजिम मंगलबारबाट लागू हुने गरि २०८२ असोज ५ गते अध्यक्षले दिएको राजिनामा स्वीकृत गरेको उनले बताइन् । उनले  संविधानको धारा टेकेर कानूनले दिएको अधिकार प्रयोग गरि अध्यक्षको राजिनामा स्वीकृत गरेको जिकिर गरिन ।