न्यूज टुडे
राजविराज, १७ कार्तिक ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिएको राजिनामा मंगलबार स्वीकृत गरिएको छ । असोज ५ गते अध्यक्ष चौधरीले दिएको लिखित राजिनामा मंगलबार उपाध्यक्ष कल्पना कुमारी चौधरीले स्वीकृत गरेकी हुन ।
गाउँपालिका अध्यक्ष ज्यूले आफू समक्ष दिएको राजिनामा मंगलबार भएको कार्यपालिका बैठकमा प्रस्ताव गरि बहुमतले राजिनामा स्वीकृत गर्ने निर्णय भएपछि अध्यक्षले दिनु भएको राजिनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना कुमारी चौधरीले बताइन् ।
नेपालको संविधान २०७२ को धारा २१५ को उपधारा (८) क बमोजिम मंगलबारबाट लागू हुने गरि २०८२ असोज ५ गते अध्यक्षले दिएको राजिनामा स्वीकृत गरेको उनले जानकारी दिइन् । उनले कानूनले दिएको अधिकार प्रयोग गरि अध्यक्षको राजिनामा स्वीकृत गरेको जिकिर गरिन ।
अध्यक्षको राजिनामा स्वीकृत गरेको जानकारी निर्वाचन आयोग नेपाल कान्तिपथ काठमाण्डौलाई जानकारी पत्र पठाइएको तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेस प्रदेश,जिल्ला समन्वय समितिको कार्यालय सप्तरी,जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला निर्वाचन कार्यालय सप्तरी,कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी र अग्नीसाइर कृष्णा सवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत बोधार्थ पठाइएको उनले जानकारी दिइन् ।
यता गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफुले राजिनामा नदिएको दावी गरेका छन् । उनले राजिनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको जिकिर गरे ।
राजनीतिक प्रतिशोध लिन नक्कली राजिनामा पत्र लेखी कृते सही गरि षड्यन्त्र गरेको अध्यक्ष चौधरीको भनाइ छ । मन्त्रालयले तोकेको प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार चौधरी ८४ दिन हाजिर नभएको पाएपछि उनलाई अस्वीकार गर्दा उनैलाई अख्तियारी दिन दवाव आउने भएपछि मंगलबार उपाध्यक्षसहितकाले फोन गर्दा नउठएको झोकमा बदलाको भावना लिएर यस्तो जालसाजी गरेको उनको कथन रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत चौधरी शारीरिक रुपमा असक्षम हुदाहुदै पनि आफू हाजिर गराउन तयार भएर जाँदा मन्त्रालयले पठाएको पत्रमा चलानी नम्बर नमिलेको तथा धेरैदिनसम्म कार्यालयमा हाजिर नभएको पाइएकाले उनलाई हाजिर गर्न अस्वीकार गरेको अध्यक्ष चौधरीले बताए ।