• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरका शिक्षक, कर्मचारी आन्दोलित : विद्यालय स्वास्थ्य संस्थासहित सम्पुर्ण सेवा ठप्प

अग्नीसाइरका शिक्षक, कर्मचारी आन्दोलित : विद्यालय स्वास्थ्य संस्थासहित सम्पुर्ण सेवा ठप्प
न्यूज टुडे 
महुली,१८ कार्तिक। 
तलवभत्ता माग गर्दै आन्दोलनरत अग्नीसाइर कृष्णसारन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मीहरु विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयसहितका सम्पूर्ण कार्यालयहरु अनिश्चतकालीन बन्द गरि गाउँपालिका अगाडि धर्ना बसेका छन् । तलवभत्ताका लागि आन्दोलन परिचालन समितिको नेतृत्वमा मंगलबार गाउँपालिका अगाडि धर्ना बसेका हुन् । 
संघर्ष समितिका संयोजक दुखन यादवको नेतृत्वमा पुगेका शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गाउँपालिका अगाडि त्रीपाल टाँगेर धर्ना बसेका छन् ।  शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछी गाउँपालिका मातहतका विद्यालय, स्वास्थ्य संस्थासहित सम्पुर्ण कार्यालय ठप्प रहेको छ । 
संघर्ष समितिका संयोजक यादवले पटकपटक गाउँपालिकाले धोका दिएकोले कर्मचारीको खातामा तलब भत्ता नआएसम्म आन्दोलन जारी राख्ने बताए । आन्दोलनका कारण सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै उनले तलवभत्ता उपलब्ध गराउने बाताबरण मिलाइदिन जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, पत्रकारसहित सम्पूर्ण सरोकारवाला निकायलाई आग्रह गरे । 
गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले कर्मचारीहरुको समस्या समाधानमा गम्भीर भएको बताए । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिंदा शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरु तलब भत्ताबाट बन्चित भएको बताइन् । उनले अध्यक्षकै कारण यस्तो समस्या आएको आरोप लगाइन् । 
प्रमुख प्रशासकीय अधिकृत  रमेश कुमार चौधारीले शिक्षक कर्मचारीहरुको माग सम्बोधनका लागी गाउँपालिका अध्यक्षसंग समन्वय गरि समस्या समाधानको पहल भइरहेको बताए । 
संघर्ष समितिले सोमबार प्रमुख प्रमुख प्रशासकीय अधिकृत  चौधरीलाई ज्ञापनपत्र बुझाउँदै अविलम्व तलवभत्ता उपलब्ध गराउन माग गरेका थिए । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले तलवभत्ता उपलब्ध गराउने भनि प्रतिबद्धता जनाएपनि धोका दिएकोले कार्तिक १८ गतेदेखि गाउँपालिकासहित मातहत सम्पूर्ण कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्थाबाट दिइने सेवा सुविधा अनिश्चितकालिन बन्द गरी  गाउँपालिका कार्यालय अगाडि हस्ताक्षर संकलन गरी धर्ना बस्ने ज्ञापनपत्रमा चेतावानी दिइएको छ। 
यसअघि असोज ९ गते गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयमा गरिएको ताला गाउँपालिका अध्यक्ष चौधारीले कार्तिक १५ भित्र उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्तिक ०२ गते ताला खोलिएको भएपनि अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउँदा तलवभत्ता पाउने सुनिश्चितता नभएको ज्ञापनपत्रमा उल्लेख छ । 
ज्ञापनपत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञन तथा प्रविधि मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मधेश प्रदेश, जिल्ला प्रशासन कार्यालय सप्तरी, गापा अध्यक्ष, गापा उपाध्यक्ष, जिल्ला सामान्य समिति, नेपाल पत्रकार महासंघ सप्तरी, शिक्षक महासंघका सम्पूर्ण घाटकहरु, स्वास्थय कार्यालय सप्तरी र सम्पूर्ण वडा कार्यालयहरुलाई बोधार्थ दिएको थियो ।