• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा आगलागी, चार परिवारको ७ घर जलेर नष्ट, ४५ लाख बढीको क्षति 

रुपनीमा आगलागी, चार परिवारको ७ घर जलेर नष्ट, ४५ लाख बढीको क्षति 
नर्मदेव यादव
रुपनी,२४ असोज । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर  १ रुपनी बजारमा विहिवार आगलागी हुँदा ४ परिवारको ७ घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । स्थानीय सुनिल कुमार यादवको घरबाट विजुलीको तार सर्ट भइ  राती ९: ४५  बजे आगलागी भएको हो ।
आगलागीमा घर, अति महत्वपूर्ण कागजपत्र, नगद ,गरगहना, लत्ताकपडा, खाद्यान्न, फर्निचर र पशुचौपायाँ गरि  ४५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगलागीमा सुनिल कुमार यादव, श्यामसुन्दर यादव, ललित यादव, पार्वती यादवको घर  र गोठ जलेर पूर्ण रुपले क्षति भएको पीडितहरुले बताए । शुनिलको बुवा सुत्ने गोठबाट  एक्कासी आगो लागी मुस्लो बाहिर निस्केपछी थाहा पाएको स्थानीयले बताएका छन् । 
आगो कञ्चनरुप नगरपालिकाको बारुण यन्त्र, बरख गण राजविराजबाट आएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका स्थानीयबासीको सहयोगमा २ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । 
आगलागीमा ललित यादवको दुई वटा घर, सुन र चाँदीको  गहना, फर्निचर गरि ७ लाख, सुनिल कुमार यादवको दुई वटा घर सुन र चाँदीको गहना खाद्यान्न  गरी १५ लाख,श्याम सुन्दर यादवको दुई घर , नगद,सुन र चाँदीको गरगहना लत्ताकपडा फर्निचर लगायतका सामान गरि १५  लाख र  पार्वती यादवको घर नगद ७५ हजार,  सुन र चाँदीको गहना समेत गरि ९ लाख गरि कुल ४५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 
आगोमा परी सुनिलको बाख्रा एक र बोका एक जलेर मरेको छ भने ललित यादवको भैंसी र गाई समेत सामान्य जलेर घाइते भएको छ। 
आगलागीमा चौपाया बचाउने क्रममा आगोले जलेर श्याम सुन्दर यादव घाइते भएको छ । उनलाई तत्कालै उपचारका लागि मधेस प्रदेश प्रहरी कार्यालय रुपनी पठाइएको रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले बताए । यादवको शरीरको १० प्रतिशत भाग जलेपनि उनी खतरा मुक्त रहेको मधेस प्रदेश प्रहरी अस्पताल रुपनीका प्रमुख डिएसपी डा. नारायण प्रसाद अधिकारीले बताए ।
यादवको प्रहरी अस्पताल रुपनीमा उपचार भइ रहेको तथा आगलागीको थप क्षतिको विवरण संकलन कार्य भइरहेको ईलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायव निरीक्षक तुलसी यादवले जानकारी दिए । 
घटना बारे गृह मन्त्रालयले राती नै चासो लिदै घाइतेको उपचारमा हेलिकप्टरसहितका सरकारले गर्नुपर्ने सहयोग बारे जानकारी गराउन रुपनी गाउँपालिकाका अध्यक्ष यादवसंग फोन मार्फत सुझाव मागेका थिए ।