न्यूज टुडे
महुली , १५ असोज ।
सप्तरीकोअग्निसाइर कृष्णासबरन गाउँपालिकामा फोहोर व्यवस्थापनका लागि खरिद गरिएको ट्याक्टर विगत तीन वर्षदेखि प्रयोग विहिन रहेको छ। ट्याक्टर मात्र नभई गाउँपालिकाको जेसिभी, अध्यक्षले चढ्ने बोलेरो र वडा अध्यक्षहरूले प्रयोग गर्ने मोटरसाइकलसमेत दुरुपयोग र जीर्ण अवस्थामा पुगेको स्थानीयहरूले बताएका छन्।
गाउँपालिकाको निर्णयपत्रअनुसार ट्याक्टर फोहोरमैला व्यवस्थापनकै उद्देश्यले खरिद गरिएको भए पनि अध्यक्षको मनपरीका कारण प्रयोग हुन नसकेको वडा नं. ६ का अध्यक्ष अशोक आचार्यले बताएका छन्। उनका अनुसार वडा कार्यालय बाध्य भई महुली बजार क्षेत्रमा भाडाको ट्याक्टरमार्फत फोहोर संकलन गर्दै आएको बताए।
यसै विषयमा स्थानीय बासिन्दाहरूले दुई वर्षअघि नै चेतावनी दिएका थिए। उनीहरूको भनाइमा पालिका अध्यक्षले कुनै काम गर्न नदिने, नजाने वा नगर्ने प्रवृत्तिका कारण पालिकामा बेथिति र विसंगति मौलाएको छ। केही घुसपैठ कर्मचारीहरूका कारण आर्थिक र प्रशासनिक कामसमेत ठप्प भएको जनाइएको छ।
गाउँपालिकाको ट्याक्टरमा इन्धन नदिइएको कारण पनि सरसफाइ कार्य ठप्प भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। तर वडा अध्यक्षको पहलमा भाडामा भए पनि फोहोर व्यवस्थापन भइरहेकोप्रति जनताले धन्यवाद व्यक्त गरेका छन्।
वडा अध्यक्ष आचार्यले पटक–पटक कार्यपालिका बैठकमा आवाज उठाए पनि अध्यक्षले प्रत्यक्ष आदेश नदिएको कारण कर्मचारीहरू पालना गर्न बाध्य नभएको उल्लेख गर्दै जनताबाट पाएको सहयोगप्रति आभार प्रकट गरेका छन्।