• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईरका कर्मचारीकै आन्तरिक विवादले दशैमा तलवभत्ताबाट बन्चित

अग्नीसाईरका कर्मचारीकै आन्तरिक विवादले दशैमा तलवभत्ताबाट बन्चित
न्यूज टुडे
राजविराज, १० असोज । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कर्मचारी – कर्मचारी वीचको आन्तरिक विवादले दशैमा सम्पुर्ण कर्मचारीहरु तलवभत्ताबाट बन्चित हुने निश्चित भएको छ ।  वरिष्ठतमको विवाद झिकेर केही कर्मचारीहरुले गाउँपालिकामा तालाबन्दी गरेपछि दशैको मुखमा कर्मचारीहरु तलबभत्ताबाट बन्चित भएको हो । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले कर्मचारीहरुकै रबैयाको कारण दशै जस्तो चाडमा कर्मचारीहरु तलबभत्ताबाट बन्चित भएको बताइन् । 
‘कर्मचारीहरुलाई तलबभत्ता खुवाउन हामीले सक्दो प्रयास गरेकै हौ’ उनले भनिन्, ‘गाउँसभा गरेर तलबभत्ता खुवाउनका लागि कार्यपालिका बैठकको सर्वसम्मत निर्णयले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबारको अधिकार दिने निर्णय गरि सम्बन्धित मन्त्रालयमा पत्राचार समेत गरिसकेका थियौ, तर केही कर्मचारीले वरिष्ठतमको विवाद सिर्जना गरि अन्योल बनाइयो । “
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको दोहोरो चरीत्रले कर्मचारी वीचमै द्वन्द निम्त्याएको बताउँदै उनले नैतिक पतन भएका अध्यक्षको बहकावमा लागेर आपसी विवाद गर्नु कर्मचारीको कमजोरी भएको टिप्पणी गरिन । 
आफ्नै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयलाई कार्यान्वयनमा लैजान छोडेर ४ घण्टा  नवित्दै कार्यपालिकाको सर्वसम्मत निर्णय उल्टाएर एकल निर्णयबाट मन्त्रालयमा अर्कै विवादास्पद पत्राचार गरेका कारण कर्मचारी वीच नै फाटो ल्याएको उनले आरोप लगाइन् । 
उनका अनुसार कार्यपालिका बैठकको निर्णय बमोजिम निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवलाई दशैमा कर्मचारीलाई तलबभत्ता खुवाउनका लागि आर्थिक अधिकार सहित जिम्मेवारी प्रदान गर्न मन्त्रालयलाई पत्राचार गरेका थिए भने सोही साँझ अध्यक्ष दिनानाथ चौधरीले एकल निर्णयबाट वरिष्ठतमको विवाद आएको भन्दै अर्कै प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
अध्यक्षको दोहोरो चरीत्रले गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएको भन्दै उनले आफ्नो हैसियत अनुसारको अझैपनि सहमति जुटाएर निकास खोज्ने प्रयास गरिरहेको जानकारी दिइन् । 
कनिष्ठलाई  निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तथा वरिष्ठतमको आधारमा जिम्मेवारी दिनुपर्नेसहितको ९ बुँदे माग राखी संजय साहसहितका केही कर्मचारी तालाबन्दी सहित आन्दोलनमा उत्रिएपछि उपाध्यक्ष चौधरीको सक्रियतामा तालाबन्दी खोली वरिष्ठतमको दावी पुग्ने प्रमाण पेश गर्न निर्देशन दिएकी थिइन् । 
पहिलो दिनको आन्दोलन टुंगोमा नपुग्दै तलबभत्ताको माग गर्दै शिक्षक तथा केही कर्मचारीले अध्यक्ष, उपाध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहिवार अनिश्चितकालीन तालाबन्दी गरेपछि कर्मचारीहरुलाई दशै अगाडि तलवभत्ता खुवाउने कार्यमा थप अन्योलता सिर्जना भएको उनले जानकारी दिइन् । 
शिक्षक कर्मचारीहरु तालाबन्दी सहित आन्दोलनमा उत्रिएपछि गाउँपालिकाको सेवा पूर्ण रुपले प्रभावित भएको छ भने सेवाग्राही मर्कामा परेका छन् ।