न्यूज टुडे
राजविराज, १० असोज ।
सप्तरीको राजविराजमा यही असोज १७, १८ र १९ गते अन्तर्राष्ट्रिय देव महासम्मेलन हुने भएको छ । महासम्मेलन आयोजक समितिले राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै बागेश्वरी सेवा समिति राजविराजका अध्यक्ष एवम् महासम्मेलन संचालक समितिका संयोजक इन्जिनियर इन्द्र नारायण देवले विश्वमै पहिलो पटक अन्तर्राष्ट्रिय देव महासम्मेलन राजविराजमा गर्न लागेको बताए । उनले विभिन्न संस्था तथा विश्वमा छरिएका देव समुदायलाई गोलबद्व गर्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपमा एकरुपता ल्याउने महासम्मेलनको मुख्य उदेश्य रहेको बताए ।
बागेश्वरी सेवा समिति राजविराज,भवानी सेवा समिति राजविराज,विराट सेवा समिति विराटनगर,देव समाज विर्तामोड झापा महासम्मेलनको आयोजक रहेको उनले जानकारी दिए ।
बागेश्वरी सेवा समितिको प्राङ्गणमा आयोजना गरिने महासम्मेलनका प्रमुख एजेन्डाहरुमा ‘देव जातिको पहिचान एवम् सर्वमान्य इतिहास निर्माण, देव जाति वीच रहेको संस्थाहरु वीच समन्वय,समझदारी,सदभाव,परस्पर सहयोग एवम् सम्पुर्ण स्वजाती वीच एकताबद्धता, देव जातिको संस्कृति एवम् संस्कार संरक्षणको क्रममा स्वाजाती वीच बढ्दै गएको छोडपत्र बहुविवाह,अन्तरजातीय विवाह, समगोत्री विवाह एवम् दहेज प्रथा न्यूनीकरणमा सामुहिक धारणा बनाउने रहेको उनले बताए ।
यसैगरी स्वाजातीमा रहेको संस्कारगत क्रियाकलापमा समय सापेक्ष परिमार्जन संशोधन, अति अल्पसंख्यक देव जातिका लागि सरकारसंग आरक्षणको व्यवस्थाका लागि समान नीति तथा देव समुदायको साझा संगठन नेपाल देव महासंघ बनाउने महासम्मेलनको प्रमुख उदेश्य रहेको उनले बताए ।
विराट सेवा समिति विराटनगरका अध्यक्ष एवम् आयोजक समितिका सह संयोजक इन्जिनियर राजेन्द्रप्रसाद देवले जातीय उत्थान र सामाजिक विकृति तथा कुरितीलाई न्यूनीकरणमा महासम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देव जाति शिक्षित, सक्षम, तथा देश विकासमा अग्रपंक्तिमा रहेपनि योग्यता क्षमता तथा योगदानको आधारमा अझै राज्यले अवसरबाट सधै बन्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
विराट सेवा समितिका सचिब जगदीश देवद्वारा संचालित कार्यक्रम स्वागत मन्तव्य व्यक्त गर्दै भवानी सेवा समिति राजविराजका अध्यक्ष एवम् आयोजक समितिका सह संयोजक इन्द्र प्रसाद देवले महासम्मेलनमा नेपाल तथा भारतका गरि ४ सय भन्दाबढी प्रतिनिधिहरुको सहभागिता रहने बताए ।
महासम्मेलनको तयारी अन्तिम चरण पुगेको बताउँदै उनले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि संचारकर्मी, सुरक्षाककर्मी, नागरिक समाज तथा सम्पुर्ण स्वजाती समुदायलाई सहयोगका लागि आग्रह गरे ।