घर जाने समय दशैंको मुखमा मुलुकका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । चाडवाड मनाउन यात्रारत उनीहरु सडक अवरुद्ध भएपछि ४८ घण्टा सम्म बाटोमै अलपत्र भएर थन्किनु परेको छ ।
घर हिडेका यात्रुको त विचल्ली भएकै छ, सडक यातायातको विकल्पका रुपमा रहेको हवाई यात्राको टिकट पनि अत्यधिक महँगो भएको यात्रुवर्गले गुनासो गर्न थालेका छन् । चर्को हवाई भाडा तिरेर यात्रा गर्न सबैका लागि सम्भव हुँदैन । सडक यातायात नै उनीहरुका लागि उपयुक्त त हो । तर राजधानी काठमाण्डौं भित्रिने र बाहिरिने विभिन्न सडक खण्डमा यति बेला अवरोध उत्पन्न भएको छ । विशेषत काठमाण्डौं–नारायणगढ सडक खण्डको अवरोधका कारण देशभरिकै यात्रुका लागि यात्राको सकस त छ नै । यसका साथसाथै उपभोग्य सामग्रीको ढुवानी समेत प्रभावित हुने अवस्था आएको छ । मुुलुकमा गठन भएका विभिन्न सरकारले विगतमा विकास निर्माणका कुरा खुबै तिब्रताका साथ उठाए । तर कामको अवस्था हेर्दा चाहीँ यस क्रममा संघीय राजधानीसम्म यात्राका लागि एउटा टिकाउ तथा अवरोध रहित सडक सम्म पनि निर्माण हुन नसकेको अवस्था छ । यो तीतो यथार्थलाई स्वीकार गर्नै पर्दछ, किनभने अहिले यात्रुहरुले जसरी यात्राका क्रममा जस्तो सास्ती भोगिरहेका छन् त्यसको पीडा भोग्नेले नै महशुस गर्ने विषय हो ।
जनताले यसरी पीडा र सास्ती खेप्नु नपरोस् भन्ने थोरै पनि विचार राख्ने हो भने समस्याले घेरिसकेपछि मात्र समाधानको उपाय खोज्नेतिर लाग्ने होईन समयमै सडक स्तरोन्नति तर्फ ध्यान पु¥याउन आवश्यक छ । तत्काल गरिएको सामान्य मर्मत सम्भारका भरमा निश्चित भएर बस्न मिल्दैन ।