न्यूज टुडे
राजविराज, ०९ असोज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको असक्षम नेतृत्वका कारण दैनिक कार्यालयमा तालाबन्दी र आन्दोलन हुने गरेको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको असक्षमताले गाउँपालिका अस्तव्यस्त हुन पुगेको हो ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी मदिराले लठ्ठ भई जिम्मेवारी बोध गर्न नसक्दा जनप्रतिनिधि तथा कर्मचारीहरु वीचमै द्वन्द चुलिएको छ । अध्यक्षको दोहोरो चरीत्र तथा निर्णय क्षमता नहुँदा कर्मचारीहरु नै दुई धारमा बाँडिएका छन् ।
मदिराले अचेल अवस्थामा सधै बस्ने अध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई तथानाम अश्लील शब्द प्रयोग गरि गालीगलौज गरेर तर्साएपछी गाउँपालिकामा हामिम आउन नरुचाएका कारण निमित्त हाकिमको विवाद उत्कर्षमा पुगेको थियो ।
वरिष्ठतमको आधारमा निमित्त दिनुपर्ने माग गर्दै एक कर्मचारीको समुहले बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवको कार्यकक्षमा दिनभरी तालाबन्दी गरि कामकाजमा अवरोध पुर्याएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई तत्काल कर्मचारीहरुलाई तलबभत्ता खुवाउन आर्थिक कारोबारसहितको जिम्मेवारी कार्यपालिका बैठकको निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेपछि उक्त जिम्मेवारीको पत्र गाउँपालिकालाई पठाएको थियो ।
यादवलाई आर्थिक कारोबारसहितको जिम्मेवारी दिई निमित्त हामिम तोकिएपछि केही असन्तुष्ट कर्मचारीले तालाबन्दी गर्दै वरिष्ठतमको आधारमा जिम्मेवारी पाउनु पर्ने माग गरेका थिए ।
यादवले जिम्मेवारी पाएपछि दशैको मुखमा तलबभत्ता पाउने आशा पलाएको कर्मचारीहरुमा विवादले निराश बनाएपछि तलबभत्ताको माग गर्दै बिहिवार गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
विभिन्न विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
तलबभत्ता नपाएसम्म आन्दोलन जारी राख्ने बताउँदै उनीहरुले शान्तिपूर्ण संघर्षको कार्यक्रमबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
यसअघि बेथिति विसंगति विरुद्ध संघर्ष समितिले सुशासन कायम गर्नुपर्नेलगायतको माग गरि आन्दोलन घोषणा गरेका थिए भने स्थानीय सिटी रिक्सा संघर्ष समितिद्वारा सडक निर्माणमा भएको अनियमितताको छानबिन तथा सडक मर्मत सम्भारको माग गर्दै सिटी रिक्सा गाउँपालिका अगाडि तेर्साएर विरोध जनाएका थिए ।