रामनाथ चौधरी
महुली, ०९ असोज ।
सप्तरीको अग्नीसाइर कृष्णासरवन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको छ । असन्तुष्ट कर्मचारीहरुले उठाएको माग सम्बोधन गर्ने आश्वासन पछि ७ घण्टापछि बुधबार साँझ ताला खोलिएको हो ।
सिनियर रहेको कर्मचारीहरुको दावी पुग्ने प्रमाणपत्र गाउँपालिकामा झिकाउने र कार्यपालिकाको बैठकबाट निर्णय गरि वरिष्ठतमको विवाद टुंगो लगाउने गाउँपालिकाले आश्वासन दिएपछि साँझ ५ बजे ताला खोलिएको थियो ।
विहान ११ बजे लगाइएको ताला दिनभरीको छलफल पश्चात् गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी र वडाअध्यक्षहरुले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ताला खोलिएको संघर्षरत कर्मचारी संजय साहले बताए ।
शुक्रबार १२ बजे सम्म निर्णय दिने भनेपछि उक्त अवधिसम्मका लागि तत्काल ताला खोलिएको बताउँदै उनले माग सम्बोधन नभए पुनः तालाबन्दीसहित अनिश्चितकालीन आन्दोलनमा उत्रिने चेतावनी दिए ।
साहसहित केही कर्मचारीहरुले संघर्ष समिति गठन गरि बुधबार विहान ११ बजेदेखि ५ बजेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको आरोप लगाउँदै उनीहरुले वरिष्ठतमको आधारमा बनाउनु पर्नेसहितको विभिन्न ११ बुँदे माग अघि सारेका छन् ।
मौजुदा ऎन कानून, नियम बमोजिम वरिष्ठतम्को आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिनु पर्ने, अन्य स्थानीयबाट सरुवा भई आएका तथा जगेडामा बसेका कर्मचारी शिक्षक साथीहरुलाई यथासिघ्र उचित व्यवस्थापन गर्नुपर्ने,फरक सेवा समुहका कर्मचारीहरु तोकिएको भन्दा अन्य जिम्मेवारीमा खटाइएकोमा अविलम्ब फिर्ता गरि तोकिएको स्थानमा कामकाज गर्न लगाउनु पर्ने, आफ्नो दरबन्दी तोकिएको स्थानमा कामकाजमा खटाउने व्यवस्था गर्नुपर्ने माग कर्मचारीहरुको छ ।
यसैगरी एक कर्मचारी एक शाखा / जिम्मेवारी दिइनुपर्ने,गापा परिषद ढिलाईले गर्दा हामी राष्ट्रसेवक कर्मचारीहरुले हालसम्म तलव भत्ता नपाउनुमा जिम्मेवारी को ? यसको यथासिघ्र सम्बोधन गर्नुपर्ने, तोकिएको समयमा कार्यालय उपस्थित भइ कामकाजका लागि इ-हाजिरीको अवलम्बन व्यवस्थापन गर्नुपर्ने र मासिक रुपमा सो प्रतिवेदनका आधारमा तलवभत्ता प्राप्तिको व्यवस्थापन गरिनुपर्ने तथा करार कर्मचारीहरुको महंगी भत्ता उपलब्ध गराउनुपर्ने, सेवासुविधा पारदर्शिता कायम गरिनुपर्ने, कामकाज गर्न सहज बाताबरण कायम गरिनुपर्ने,पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा गरिनुपर्ने, यी सबै जायज माँगहरु सभाद्वारा पारित गरि कानून सम्मत कार्यान्वयन गरिनुपर्ने ऊनीहरुले माग गरेका छन् ।
तालाबन्दी पछि उनीहरु गाउँपालिका अगाडि ७ घण्टा धर्ना समेत बसेका थिए । तालाबन्दीका कारण गाउँपालिकाको सम्पुर्ण सेवा दिनभरी प्रभावित भएको थियो ।