न्यूज टुडे
राजविराज,०६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले दोश्रो पटक मन्त्रिपरिषद् बिस्तार गरेकी छन् । विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरुलाई समेटेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बिस्तार गरेकी हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका हुने ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा साेमबार अपराह्न आयोजित समारोहमा अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले सपथ लिएका छन् ।
सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियार कृषि र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ५ मन्त्रीको नाम सिफारिस गरेकोमा स्वास्थ्यमन्त्रीमा प्रस्तावित संगीता मिश्राको सपथ भने स्थगन गरिएको थियो ।
चार मन्त्री थपिएसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । गत भदौ २७ नियुक्त हुनुभएकी प्रधानमन्त्री कार्कीले ३० गते तीन मन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले अन्य मन्त्रीका लागि परामर्श जारी राखेको बताइन् ।
उक्त समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की तथा उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।