• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोको कारणका २४ घण्टा भन्दा बढी समयदेखि यात्रु अलपत्र परे । हजारौं यात्रु दशैंमा घर जान हिडेको भए पनि समयमा गन्तव्य सम्म पुग्न नसक्दा अनेकौं सास्ती खेप्नु प¥यो ।
बाटो सुचारु गर्नका लागि पहिरो पन्छाउने प्रयास पनि सफल हुने सकेन र यात्रीले गाडीमै रात बिताउनु पर्ने बाध्यता आईप¥यो । नारायणगढ–मग्लिन सडक खण्ड वर्षामा मात्र नभई सुक्खायाममा समेत अवरुद्ध हुने गरेको छ । तर त्यसको समाधान गर्न उपयुक्त समयमा काम गर्ने तिर नलागेर पहिरो गएपछि पन्छाउने तर्फ मात्र ध्यान केन्द्रित गरेका कारण जीर्ण रोगका रुपमा यो समस्याले पछ्याउँदै आएको छ । पहिरो खस्ने स्थानको पहिचान गरेर सुक्खा समयमा त्यसलाई रोक्ने, सडकमा हुन सक्ने अवरोधलाई हटाउने र पहिरोको जोखिमबाट सडकलाई मुक्त तुल्याउने सम्बन्धमा बेलैमा चासो नराखेका कारणले अहिले यात्रुहरुले अनावश्यक सास्ती भोग्नु परिरहेको छ । संघीय राजधानी काठमाण्डौंमा यात्रु लगायत अन्य उपभोग्य तथा निर्माण सामग्री आपूर्ति गर्न सबैभन्दा बढी प्रयोगमा आउने यस सडकको स्तरीकण गर्ने, बाढी पहिरोको अवरोध हुन नसकोस् भन्ने हिसाबले काम नगर्ने हो भने फेरि पनि यो समसया बल्झिन सक्दछ ।
पहिरोले अवरुद्ध भएको सडकलाई पहिरो हटाएर सुचारु गरेर मात्रै सदाका लागि समस्याको समाधान भयो भनेर सोच्नु भुल हुनेछ । उक्त सडक खण्डमा सुक्खायाममा पनि पहिरो र ढुंगा खस्ने गरेको छ । ढुंगाले लागेर कैयौंको ज्यानै गईसकेको छ । जनताको सुरक्षाका दृष्टिकोणबाट समेत यस्तो गम्भीर समस्याप्रति हेलचक्रयाइँ गर्न कदापि मिल्दैन ।