न्यूज टुडे
राजविराज,०५ असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाद्वारा पालिकाको सभाहलमा आइतबार आयोजित एक समारोहका वीच गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष कल्पना कुमारी चौधरीले आर्थिक बर्ष २०८२/०८३ को ६१ करोड ९४ लाख १० हजार ७ सय ८७ रुपैयाँ बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरिन ।

उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा जनताको चाहना अनुसार छिटोछरितो सेवा प्रवाह अवलम्बन गर्ने नीति लिएको तथा प्रत्येक वडालाई १ करोड ५० लाख वडा सिलिङ विनियोजन गरिएको छ ।

कार्यक्रममा अग्नीसाईर कृष्णावरन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्य,वडा नम्बर ३ का वडा अध्यक्ष गोपालप्रसाद चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद चौधरी,ठाकुरजी मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल,स्वास्थ्य चौकी हरिहरपुरका प्रमुख माधव चौधरी, दिनानाथ साहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवद्वारा संचालित कार्यक्रममा स्वागत निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवले गरे ।
‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार,गाउँपालिकाको समृद्धिको आधार” भन्ने मुल नाराकोसाथ आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
स्थानीय तह संचालन ऎन २०७४ अनुसार असार १० गते भित्र गाउँसभा गर्नुपर्नेमा आन्तरिक विवादका कारण ५ महिनापछि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले गाउँसभा गरेका हुन् ।