• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बेथिति विसंगति विरुद्धको संघर्ष समितिद्वारा आन्दोलन फिर्ता

बेथिति विसंगति विरुद्धको संघर्ष समितिद्वारा आन्दोलन फिर्ता
न्यूज टुडे
राजविराज, ०५ असोज ।
वेथिति विसंगति विरुद्ध संघर्ष समितिद्वारा पूर्व घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । समितिका अध्यक्ष अरुण कुमार चौधरी र सचिब मिलन कुमार चौधरीद्वारा आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी गराएको हो । 
गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झालाई हाजिर नहुँन पत्राचार गरेको र सामान्य प्रशासन मन्त्रालयलाई अर्को व्यवस्थापन गर्न माग राखी पत्र पठाएको जानकारी गराएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिका अध्यक्ष र सचिबद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा आफुहरुको माग प्रति सहयोग गर्ने गाउँपालिका तथा सम्पुर्ण गाउँबासीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेका छन् । 
झाले गाउँपालिका अगाडि रहेको इटहर्वा बजार व्यवस्थापन समितिको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा झा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भए थप भ्रष्टाचार तथा बेथिति बढ्ने खतरा औल्याएको छ । 
विज्ञप्तिमा जेनजी पुस्ताको बिद्रोहको क्रममा प्रहरीको गोली प्रहारबाट मृत्यु भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अंगभंग भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 
भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीको प्रमुख हुँदा झाले इटहर्वा बजारको जग्गा व्यक्तिको नाममा पास गरेका थिए । ४० बर्षभन्दा पहिले देखि हकभोग्ग गरिदै आएको तथा  हाट बजार  लाग्दै आएको जग्गा व्यक्तिको नाममा पुगेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीको ठाडो आदेशमा कडा सुरक्षाका वीच डोजर लगाएर सार्वजनिक पूर्वाधारहरु भत्काएको  थियो । 
परापूर्वकालदेखि बजारको सेड लगायतका विभिन्न सरकारी संरचना तोडफोड गरेपछि आक्रोशित स्थानीयबासीले प्रतिकार गर्दा प्रहरी दमन भएको थियो ।  प्रहरीसंग झडप हुँदा आधादर्जन भन्दाबढी स्थानीयबासी सामान्य घाइते  समेत भएका थिए ।