• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रमुख प्रशासकीय अधिकृतमा झा आउन लागेको भन्दै आन्दोलनको घोषणा

प्रमुख प्रशासकीय अधिकृतमा झा आउन लागेको भन्दै आन्दोलनको घोषणा
न्यूज टुडे
राजविराज, ०३ असोज । 
इटहर्वा बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग पुर्‍याएका व्यक्ति अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनलागेको भन्दै स्थानीयले आन्दोलनको घोषणा गरेको छ ।  गाउँपालिका स्तरीय बेथिति, विसंगति विरुद्ध संघर्ष समितिद्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तीनदिने विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । 
संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरी र इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् संघर्ष समितिका सचिब मिलन कुमार चौधरीद्वारा संयुक्त  हस्ताक्षरित विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतको रुपामा झालाई हाजिर नगराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ । विवादित व्यक्ति झा आउने खबरप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा उनलाई हाजिर गराए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। 
भ्रष्टाचार तथा अहंकार विरुद्धको जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाउँछौ, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा झा आउन लागेको सुनेर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,’ यो उनै केशव झा हुन जसले भू-मफियाहरुसंगको मिलोमतोमा इटहर्वा बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेकाले यस्ता भ्रष्ट अधिकृतले अझै बेथिति उत्कर्षमा पुर्‍याउँछ भन्ने हाम्रो ठम्याई छ ।’
आफुहरुले गराएको ध्यानाकर्षणलाई बेवास्ता गरि हाजिर गरे प्रतिकारमा उत्रीने चेतावनी दिदै विज्ञप्तिमा ३ दिने संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ । 
घोषित संघर्षका कार्यक्रम अनुसार भदौ ४ गते जनजागरण भेला, ५ गते ज्ञापनपत्र बुझाउने तथा धर्ना र ६ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने रहेको छ । 
विज्ञप्तिमा जेनजी पुस्ताको आन्दोलनका सहिद भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । 
‘भ्रष्टाचारीलाई कारबाही एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथी हस्तक्षेप गर्दै सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध विरुद्ध भदौ २३ र २४ गते जेनजी पुस्ताको विद्रोहको क्रममा सहादत हुनुभएका सम्पुर्ण वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं’ विज्ञप्तिमा भनिएको छ,’ साथै उक्त घटनामा घाइते तथा अंगभंग भएका सम्पूर्ण अभियानताहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
 भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीको प्रमुख हुँदा झाले इटहर्वा बजारको जग्गा व्यक्तिको नाममा पास गरेका थिए । ४० बर्षभन्दा पहिले देखि हकभोग्ग गरिदै आएको तथा  हाट बजार  लाग्दै आएको जग्गा व्यक्तिको नाममा पुगेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीको ठाडो आदेशमा कडा सुरक्षाका वीच डोजर लगाएर सार्वजनिक पूर्वाधारहरु भत्काएको  थियो । 
परापूर्वकालदेखि बजारको सेड लगायतका विभिन्न सरकारी संरचना तोडफोड गरेपछि आक्रोशित स्थानीयबासीले प्रतिकार गर्दा प्रहरी दमन भएको थियो ।  प्रहरीसंग झडप हुँदा आधादर्जन भन्दाबढी स्थानीयबासी सामान्य घाइते  समेत भएका थिए ।