न्यूज टुडे
राजविराज,०२ असोज ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई कारबाहीको सिफारिस गरिएको छ । पार्टीले सरकारबाट फिर्ता बोलाउँदा समेत पदबाट राजीनामा नदिएपछि जनमत पार्टीका मधेशका संसदीय दलले अनुशासनकाे कारबाहीको सिफारिस गरेको हो ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मुख्यमन्त्री सिंहविरुद्ध पार्टीको केन्द्रीय समितिमा कारबाही सिफारिस गर्ने निर्णय गरेको संसदीय दलका नेता महेशप्रसाद यादवले बताए । उनका अनुसार मुख्यमन्त्री सिंहसँग २४ घण्टाभित्र स्पष्टीकरण मागिएको थियो, तर मुख्यमन्त्री सिंहले जवाफ नदिएपछि दलको बैठकले बुधबार कारबाहीको सिफारिस निर्णय गरेको यादवले बताए ।
नेता यादवले आजै मुख्यमन्त्री सिंहको कारबाहीका लागि पार्टीलाई पत्राचार गरेको उनले बताए । दलको सिफारिसअनुसार पार्टीले कारबाही गरेको खण्डमा मुख्यमन्त्री सिंहको सांसद पदसमेत जाने र उनी स्वतः मुख्यमन्त्रीबाट पदमुक्त हुने कानुनी प्रवधान रहेको छ ।
जेन–जी आन्दोलनको क्रममा २४ भदौमा पार्टीको निर्देशनअनुसार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर, पछि औपचारिक राजीनामा दिन अस्वीकार गरेपछि कारबाहीको सिफारिस गरिएको बताइएको छ ।
संसदीय दलले मुख्यमन्त्रीसहित सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयमा पठाइसकेको जनाएका छन्।