भ्रष्टाचार विरुद्ध तथा सामाजिक संजालमा प्रतिबन्ध लगाएको विरोधमा जेनजी विद्रोहमा सहिद भएकाहरुको स्मृतिमा राजविराजमा बुधबार दिपप्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरी,संघीय लोकतान्त्रिक मोर्चा जिल्ला समिति सप्तरीसहितका विभिन्न संघसंस्थाले जेनजी विद्रोहका सहिदहरुको स्मृतिमा दिपप्रज्ज्वलन गरेको हो ।
सहिदप्रति दिपप्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक मोर्चा आवद्ध नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा महासंघका कार्यालय अगाडि मौनबती बालेर जेनजी सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।उक्त अवसरमा आम संचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, देवराम यादव, महासंघ सप्तरीका अध्यक्ष श्रवण देवसहित पदाधिकारी, पत्रकार आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिलगायतका राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसैगरी संघीय लोकतान्त्रिक मोर्चा सप्तरीको आयोजनामा जेनजी सहिदहरुको स्मृतिमा दिपप्रज्वलन गरिएको छ । राजविराज स्थित गजेन्द्र चौकमा भेला भएका संघीय लोकतान्त्रिक मोर्चा आवद्ध नेताकार्यकर्ताले गजेन्द्रनारायण सिंहको शालिक अगाडि मैनवती बालेर श्रद्धाञ्जली दिएपछि मैनवती बालेर पैदललै नेता चौकमा पुगेर दिप प्रज्वलन गरेका थिए ।
उक्त अवसरमा मोर्चा आवद्ध केन्द्र, प्रदेश र जिल्लाका नेताकार्यकर्ता तथा विभिन्न भातृसंगठनका महिला, युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
जेनजी विद्रोहका सहिदहरुको स्मृतिमा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरि सार्वजनिक विदा घोषणा गरि राष्ट्रिय झण्डा झुक्याएर शोक दिवस मनाउने निर्णय गरेका थिए ।
सप्तरीको रुपनीमा आयोजित श्रद्धाञ्जली कार्यक्रम । फोटो : न्यूज टुडे
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको एकै दिन र उपचारको क्रममा गरि ७२ जनाको मृत्यु भएको थियो ।