राजविराज नगरपालिकामा गत मंगलबार वृहत सरसफाई कार्यक्रमको आयोजना गरियो । कार्यबाहक नगरप्रमुख समेतले उक्त कार्यक्रममा सहभागिता जनाएको दृश्य सामाजिक सञ्जालमार्फत भाइरल पनि बन्यो ।
नगरप्रमुख नै यसरी सरसफाईका लागि अघि बढ्नाले अब राजविराज नगरी स्वच्छ बन्ने भयो भन्ने धेरैमा आशा पनि जागेकै हुनुपर्ने हो । तथापि यसमा के कति सुधार आउने र जनताको आशा के कति पूरा हुने हो भन्नाका लागि केही दिन प्रतीक्षा नै गर्नुपर्ने हुन्छ । सरसफाई एक दिन मात्र तामझामका साथ गरेर पुग्ने विषय किमार्थ हुन सक्दैन । यो नियमित कार्य त हो । तर यति बेला राजविराज नगरपालिकाका सम्पूर्ण सरसफाई साधन आगजनीबाट ध्वस्त बनेका छन् । यसले गर्दा नगरपालिकामा कति दिन देखि फोहर उठ्न सकिरहेको थिएन र यसै क्रममा विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको छ । यो विशेष कार्यक्रमबाट नगरपालिकाको सरसफाईमा निरन्तरता आउन सक्यो भने मात्र यसको पनि सार्थकता झल्केनेमा आशंका नरहला ।
सरसफाईका साधन आगलागीबाट जलेर नष्ट भएको अवस्थामा नगरपालिकाले बैकल्पिक व्यवस्था गरेर भएपनि नगरको फोहर नियमित उठाउन सक्ने व्यवस्था मिलाउन तर्फ ध्यान केन्द्रीत गर्न आवश्यक छ ।