सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ र ३ अन्तर्गत पर्ने विशाल चौकदेखि राजविराजसम्म सडक निर्माणको नाममा लाखौं दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका छन् । गाउँपालिका स्तरीय योजना अन्तर्गत संचालित २० लाखको योजनाको कार्यमा उपभोक्ता समिति र गाउँपालिकाकै मिलोमतोमा बजेट दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका हुन् ।
सडकको दुर्दशा बारे जानकारी गराउँदै स्थानीय । फोटो : न्यूज टुडे
गाउँपालिकाको बजेट उपयोग नहुँदा उक्त बाटो भएर आवतजावत गर्न ठुलो सास्ती खेप्नु परेको अग्नीसाईर कृष्णासावरन गाउँपालिका वडा नम्बर ३ का पूर्व अध्यक्ष अरुण कुमार चौधरीले बताए । ग्राभेल भएको बाटोलाई मर्मत गर्ने नाममा थप विगारेर खाल्डाखुल्डी बनाउँदा उक्त बाटो भएर संचालन हुने सिटीरिक्सा,एम्बुलेन्स लगायतका आकस्मिक सेवा संचालनमा समस्या उत्पन्न भएको उनले जानकारी दिए ।
उनले बाटो मर्मतको नाममा उपभोक्ता समिति र गाउँपालिकाको मिलोमतोमा ठुलो बजेट अनियमित गरेको आरोप लगाए ।
“मर्मतसम्भारको काम गर्नुभन्दा अगाडि सडकमा आवतजावत गर्न सहज थियो, तर जब मर्मतको नाममा ग्राभेल खनेर माटो लगाइयो, त्यसपछि सडकमा हिड्नै नसक्ने गरि समस्या आयो, उनले भने, ‘पैसा कमाउने नियतले स्टिमेट अनुसार काम नहुँदा यस सडक हिड्ने हामी सबैले ठुलो सास्ती खेप्न बाध्य छौँ ।’
उनले यस सडक मर्मतको नाममा ठूलो रकम अनियमितता भएको बारे निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधिहरुलाई पटकपटक जानकारी गराउँदा समेत सुनुवाइ नभएको बताए । उनले २० लाखको मर्मत सम्भारको कार्यमा २० प्रतिशत भन्दा कम काम गरि बजेट बाँडफाँड गरेको दावी गरे । सडक मर्मत सम्भारको कार्यमा ५ लाख भन्दा कमै खर्च भएको उनले जिकिर गरे ।
स्थानीय प्रियवत प्रसाद सिंह थारुले सडक मर्मतको कार्य आफुलाई पटककै मन नपरेको बताए । जेसीबीले छेउको माटो खनेर खाल्डाखुल्डी पुरेको जानकारी दिदै उनले आफ्नो घर अगाडि मर्मत गर्न रोकेको कारण अहिले हिलोको सामाना गर्नु नपरेको बताए ।
उनले उपभोक्ता समितिले सडक बनाउनुभन्दा विगारेको गुनासो गर्दै कामै नगरी २० लाख रुपैया भुक्तानी लिएकोले छानवीन गरि कारबाही गर्नुपर्नेमा जोड दिए ।
सिटिरिक्सा चालक गुगली रजकले सडकको ठाउँ-ठाउँमा खाल्डाखुल्डी भई हिलाम्मे हुँदा ठुलो सास्ती खेप्नुपरेको बताए । अर्का सिटी चालक खेलानन्द चौधरीले बाटो विग्रीएकाले बाटोको कारण आम्दानी ठप्प भएको बताए । उनले कमाई नहुँदा सिटी किन्न लिएको ॠणको किस्ता बुझाउन समेत नसकेको दुखेसो पोखे ।
बाटो राम्रो हुँदा दैनिक १ हजार ५ सय देखि ३ हजार सम्म कामाउने गरेकोमा बाटोमा सिटी चलाउन नपाउँदा आम्दानी नै रोकिएको अर्का सिटी चालक रामविलाश साहले बताए । उनले यथासिघ्र सडक मर्मत सम्भार गर्न माग गरे ।
साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरीले योजनाबाट कमाउने नियतले खोलाको बालुवा ग्राभेलमाथि लगाएकाले बाटोको यस्तो दुर्दशा भएको बताए ।
‘ग्राभेल त पहिलेदेखि नै थियो तर किन त्यसमाथि बालुवा लगाउनु पर्यो, उनको भने,’यसमा उपभोक्ता समितिको राम्रो नियत देखिएन, चरम भ्रष्टाचार भएको छ, छानबिन गरि बजेट असुल उपर गरि पुनर्निर्माण गर्नु जरुरी छ ।”
वडा नम्बर ४ का अध्यक्षका प्रत्यासी उम्मेदवार विनोद कुमार चौधरीले गाउँपालिकामा भ्रष्टाचारले सिमा नाघेको भन्दै त्यसैको एउटा उदाहरण यो सडक मर्मतको काम भएको बताए । बीस लाखको काममा १५ लाख भ्रष्टाचार हुनु दुर्भाग्य भएको बताउँंदै उनले सबैमिलेर भ्रष्टाचार रोक्न खबरदारी गर्नुपर्नेमा जोड दिए ।
सडक मर्मत सम्भार उपभोक्ता समितिका अध्यक्ष परशुराम ठाकुरले स्टिमेट भन्दा बढी काम गरेको दावी गरे। बर्षा महिनामा सडकमा खाल्डाखुल्डी भइ हिडडुल गर्न तथा सवारी साधन चलाउन समस्या भएको स्वीकार गर्दै उनले खाल्डाखुल्डी पुर्ने काम छिटै गर्ने बताए ।
‘गाउँपालिकाले गरेको स्टिमेटभन्दा बढी नै काम गरेको छु, त्यसै भुक्तानी लिएको छुइन, प्राविधिकले मूल्यांकन गरेर नै भुक्तानी दिएको हो, उनले भने,’ यसमा कसैसंग लेनदेन भएको छैन, इमानदारी पूर्वक काम भएको छ ।”
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवले उक्त सडकको मर्मत सम्भारको भुक्तानी गर्दा आफू जिम्मेवारीमा नरहेको भन्दै पन्छिन खोजे । स्थानीयको गुनासो आएपछि आफुले पनि चासो राखेको बताउँदै उनले प्राविधिकहरुसंग छलफलमै रहेको भन्दै यस बारे अनविज्ञता व्यक्त गरे ।