न्यूज टुडे
राजविराज, ३१ भदौ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिले फोनिज बारा शाखाका सहसचिव वसन्त लामामाथि भएको कुटपिटको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश समिति अध्यक्ष दुष्यन्त चौधरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार लामामाथि भएको कुटपिटको घटनाको भर्त्सना गरेका हुन् ।
‘मिति २०८२/०५/३१ गते समाचार लेखेको निहुँमा पत्रकार लामा माथि भएको निर्घात कुटपिट र दुर्व्यवहार घटनाको फोनिज मधेस प्रदेश समिति घोर भर्त्सना गर्दछ ‘ फोनिज मधेस प्रदेश समिति अध्यक्ष चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाराको निजगढ नगरपालिका १ स्थित बनसथली हाट बजार नजिकै चिया पसलमा मंगलबार विहान आशिष जिम्बा ,उनको भाइ र रिस्याङ वाइवासहित तीन जनाको समुहमा आएका उनीहरूले वनफडानीको समाचार किन लेखेको भन्दै आक्रमण गरेको पीडित पत्रकार लामाले बताए ।
पत्रकार लामाका अनुसार जेनजी आन्दोलनको मौका छोपी बन फडानी गरेको समाचार लेखेको निहुँमा वन फडानीको समाचार किन लेखिस भन्दै आक्रमणकारी समुहले निर्घात कुटपिट गरेको हो ।
विज्ञप्तिमा पत्रकार लामामाथि भएको कुटपिटको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको ठहर गर्दै कुटपिटमा संलग्नहरुलाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न महासंघले माग गरेको छ ।
‘प्रकाशित समाचारप्रति चित्त नबुझे खण्डन तथा उजुरी गर्ने ठाउँ हुँदाहुँदै पत्रकार उपर भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर रहेको छ’ अध्यक्ष चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,”स्वतन्त्र एवम् निर्भीकता पूर्वक समाचार सम्प्रेषण गर्ने बाताबरण मिलाउन तथा पत्रकार लामालाई कुटपिट गर्ने समुहलाई पक्राउ गरि अविलम्ब कारबाही गर्न महासंघ स्थानीय प्रशासनसंग जोडदार माग गर्दछ ।”
यसैगरी नेपाल पत्रकार महासंघ बारा शाखाले समेत घटनाको घोर निन्दा गरेको छ । नेपाल पत्रकार महासंघ बारा शाखाका सदस्य समेत रहेका लामामाथि भएको कुटपिटको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घोर भर्त्सना गरेको छ ।
पत्रकार लामाले सामाजिक संजालमा लगाएको प्रतिबन्ध हटाउनु पर्ने र भ्रष्टाचारीलाई कारबाही गर्न माग राखी भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको विद्रोहको आडमा गरेको वन फडानीको समाचार प्रकाशित गरेका थिए ।