• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कर्फ्यु हटेपछि सप्तरीमा सर्वसाधारणको चहलपहल

कर्फ्यु हटेपछि सप्तरीमा सर्वसाधारणको चहलपहल
न्यूज टुडे
राजविराज, २९ भदौ । 
जेनजी आन्दोलन उग्र बनेपछि सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाभरी लगाएको कर्फ्यु फिर्ता लिएपछि जिल्लामा सर्वसाधारणको चहलपहल बढेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबार नै कर्फ्यु र निषेधाज्ञा हटाएपछि आइतबारदेखि जिल्लाका जनजीवन सामान्य बन्दै गएको हो ।
कर्फ्यु हटेसंगै बजार क्षेत्रहरूमा दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नेहरुको चहलपहल बढेको छ । थारु तथा मैथिल महिलाहरुले विशेष महत्त्वका साथ मनाउने जितिया पर्व परेकाले बजार क्षेत्रहरूमा किनमेल गर्नेको भीड देखिएको छ ।
जिल्लामा बजारहरु खुल्न थालेका छन् भने लामो तथा छोटो दुरीको सार्वजनिक यातायातहरु  समेत निर्वाद रुपमा सञ्चालनमा आएका छन्  । यसैगरी, आइतबारदेखि  सरकारी कार्यालयहरु,विद्यालयहरू पनि सञ्चालनमा आएको छ ।
गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटपछि जिल्लामा कर्फ्यु र निषेधाज्ञा आदेश जारी भएपछि जनजीवन प्रभावित भएको थियो । 
कर्फ्यु लागेपछि विशेष गरी काम गरेर हातमुख जोर्न पर्ने  सर्वसाधारण बढी मर्कामा परेका थिए । कर्फ्युका कारण बजार र यातायातका साधन पूर्ण रुपले बन्द हुँदा हिँडडुल गर्नसमेत समस्या हुँदै आएको थियोे ।
कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै जिल्लाको जनजीवन सहज बन्दै गएको स्थानीयको भनाइ छ ।  
विस्तारै मजदुर, शिक्षक, व्यापारी, चालक लगायत काममा फर्किन थालेपछि सप्तरीको जनजीवन पहिले जस्तै हुन थालेको स्थानीयहरुको बताउछन् । 
जेनजी आन्दोलनको क्रममा राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तथा जिल्लाका दर्जनौं सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।