न्यूज टुडे
राजविराज,२८ भदौ ।
जेनजी समुहको आन्दोलन उग्र बनेपछि सप्तरीमा भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु जारी राखिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै कर्फ्युको समय जारी रहेको जनाएको हो।
जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा र दफा ६ (क) अनुसार सुरक्षा सुनिश्चित गर्नका लागि चार किल्ला तोकी उक्त सीमाभित्र कसैले आवतजावत, जुलुस, सभा, बैठक वा कुनै प्रकारको प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा तथा कर्फ्यु लगाइएको उल्लेख छ ।
‘शनिबार विहान ०८ बजेदेखि वेलुका ०५ बजेसम्म निषेधाज्ञा र वेलुका ०६ बजेदेखि आइतबार विहान ०६ बजे सम्म कर्फ्यु लागू रहनेछ, जारी सूचनामा उल्लेख छ ।
उत्तरमा उदयपुर जिल्ला, पूर्वमा सुनसरी जिल्ला, दक्षिणमा भारत सिमाना र पश्चिममा सिरहा जिल्लालाई सीमाना निर्धारण गरिएको सप्तरी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल बताए ।
उनले जनतालाई प्रशासनको निर्देशन अनुसार अनावश्यक आवतजावत नगर्न र नियम पालना गर्न आह्वान गरेका छन्। प्रशासनले कर्फ्यु समयमा विशेष सतर्कता अपनाउने र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायमार्फत निगरानी राख्ने सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले भदौ २४ गते ०३ :३० देखि जारी कर्फ्युलाई शनिबार पनि निरन्तरता दिइएको हो । कर्फ्यु संगै नेपाली सेनाले गस्ती बढाएर सुरक्षा व्यवस्था कडा बनाएको छ ।