आन्दोलनको माहौलमा अहिले ठाउँ–ठाउँमा चोरी तथा लुटपाट जस्ता आपराधिक घटना समेत बढ्न थालेका छन् । सुरक्षा व्यवस्था प्रभावित बनेको समयको मौका उठाउँदै अपराधीहरुको सक्रियता बढ्न थालेको हो ।
अपराधीहरु सवलबलाउन थालेपछि जनमानसमा त्रास उत्पन्न हुनु स्वाभाविकै हो । उनीहरुका आपराधिक गतिविधिका विरुद्ध जनस्तरबाट पनि सक्रियता देखाउनुपर्ने समय आएको छ । घरको कम्पाउण्डभित्र प्रवेश गर्ने ढोका बन्द राख्ने, टोल–टोलमा एकापसको सम्पर्क सूत्र बढाउने, टोल सुरक्षा समूह गठन, रातीको समयमा पहरा गर्ने र अपराधीको मनोबल तोड्ने हिसाबले अन्य विभिन्न उपाय अपनाउनुका साथै सुरक्षा निकायसित सम्पर्कमा रहँदै अपराधी पक्रेर जिम्मा लगाउने तर्फ सक्रियताका साथ लाग्नुपर्ने समय आएको छ । आन्दोलनको समयमा आपराधिक मनोवृत्तिहरुको घुसपेठ हुनसक्ने सम्भावनालाई नकार्न नसकिएझै वर्तमान परिस्थितिमा चोरी, डकैती, लुटपाट जस्ता घटना बढ्न सक्ने कुराप्रति पहिलेदेखि नै अपनाईने सावधानी र सुरक्षाको तयारीबाट आफू लगायत अरुको पनि सुरक्षा गर्न सकिने कुरामा दुई मत नहोला । प्रहरी मात्रको भरमा परेर बस्ने भन्दा पनि अहिलेको असहज परिस्थितिमा सुरक्षित वातावरण तयारीका लागि जनस्तरबाट पनि सहयोगको आवश्यकता छ भन्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।
अतः सबैको साथ लिएर सबैको सुरक्षामा सक्रिय र सचेत रहनु यतिबेलाको आवश्यकता हो ।