न्यूज टुडे
राजविराज, २५ असार ।
सप्तरीको राजविराज कारागारका कैदीबन्दीहरु जेल तोडेर भागेका छन् । जेनजी आन्दोलनको तेस्रो दिन कैदीबन्दीहरु जेलाभित्र आगजनी गरि जेल तोडेर भागेका हुन् ।
भाग्नुअघि कैदीबन्दीहरुले जेलभित्रै आगजनी गरेका थिए । कैदीबन्दीहरुले जेलभित्र आगो लगाएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको व्यापक सुरक्षाकर्मी खटाएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार दिउँसों ०३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेपनि कारागार भित्रका कैदीबन्दीले विहान ११ बजे जेलभित्र आगजनी गरेका थिए ।
कारागार भित्र आगजनी भएपछि कैदीबन्दीहरु भागभाग भएका थिए । जेलबाट कति कैदीबन्दी फारर भयो भन्ने तथ्यांक भने एकिन भएको छैन ।
कारागार क्षेत्रमा व्यापक रुपमा नेपाली सेना खटाइएको छ । जेनजी आन्दोलन अराजक भएपछि मंगलबार राती १० बजे देखि नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएका थिए ।
राजविराज क्षेत्रमा सेना परिचालन गरिएपनि स्थित भने अझै तनावग्रस्त रहेको छ । अहिले नेपाली सेना सुरक्षाका लागि खटिएका छन् ।
मंगलबार उच्च अदालत जनकपुर- राजविराज, सप्तरी जिल्ला अदालत, नगरपालिका कार्यालय, जिल्ला वन कार्यालय,कार कार्यालय, पूर्वाधार विकास कार्यालय, ट्राफिक विट तथा विभिन्न पार्टीका पार्टी कार्यालयमा जेनजी समूहले आगजनी तथा तोडफोड गरेका थिए ।