काठमाडौमा सोमबार प्रहरीको गोली लागि सहिद भएकाहरुका युवाहरूको स्मृतिमा सप्तरीको विभिन्न स्थानमा मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । सप्तरीको महुली, चाँदनी बजार, रुपनी लगायतका विभिन्न चौकमा स्थानीयले सहिदहरुको स्मृतिमा दिप प्रज्वोलन गरी श्रद्धाञ्जली अर्पण गरेक हुन् ।
सप्तरीको रुपनीमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्दै स्थानीयबासी । फोटो : नर्मदेव यादव
सरकारले बल प्रयोग गरि काठमाडौमा गरेको नरसंहारको विरुद्ध आन्दोलनमा उत्रिएका जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का आन्दोलनकारीहरुले सप्तरीको विभिन्न स्थानमा मंगलबार विहानदेखि प्रदर्शनमा उत्रिएका छन् ।
आक्रोशित जेनजी समुहले राजविराज स्थित विभिन्न पार्टीका कार्याल तथा सरकारी कार्यालयमा दिउँसो आगजनी गरेका छन् भने राजविराज नगरपालिकासहितका विभिन्न स्थानीय तहका गाडी लगायतमा तोडफोड गरेका छन् ।
सप्तरीको महुलीमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्दै प्रदर्शनक्करी । फोटो : रामनाथ चौधरी
युवाहरू विहानैदेखि सडकमा उत्रीएपछि पूर्वपश्चिम राजमार्ग भएर चल्ने तथा सदरमुकाम राजविराजबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधन पूर्ण रुपले ठप्प भएको छ ।
देशव्यापी हिंसा भड्किएपछी प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएका छन् भने विभिन्न शिर्ष नेताको घरमा आगजनी र तोडफोड भएको छ ।
सोमबार काठमाडौमा जेनजी समूहको आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको थियो भने ४ सयबढी प्रदर्शनकारी घाइते भएका थिए ।
सरकारले बल प्रयोग गरि बालबालिकाहरुको ज्यान लिएको र अंगभंग तथा घाइते बनाएको विरुद्ध अहिले देशभर प्रदर्शन भइरहेको छ । आन्दोलनकारीहरुले मन्त्री देखी विभिन्न नेता तथा पार्टी कार्यालय,सरकारी कार्यालयहरुमा आगजनी गर्ने क्रम जारी राखेको छ ।