काठमाडौमा सोमबार भएको नरसंहारको विरुद्ध आन्दोलनमा उत्रिएका जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का आन्दोलनकारीहरुले नेकपा एमाले, नेपाली काँग्रेस र जनमत पार्टी सप्तरीको कार्यालयमा मंगलबार आगजनी गरेको छ । जेनजी समुहको आन्दोलनमा बल प्रयोग गरी सरकारले आफ्ना सहकर्मीहरुको हत्या गरेको भन्दै मंगलबार आन्दोलनमा उत्रिएका आक्रोशित जेनजी समूहले सत्तारुढ पार्टीका जिल्ला कार्यालयहरुमा आगजनी गरेको हो ।
जनमत पार्टी सप्तरीको सम्पर्क कार्यालयमा गरिएको तोडफोड । फोटो : न्यूज टुडे
राजविराज ८ स्थित मदननगरमा रहेको एमाले पार्टी जिल्ला कार्यालय, राजविराज ७ स्थित रहेको नेपाली काँग्रेस र जनमत पार्टीको जिल्ला सम्पर्क कार्यालयमा आक्रोशित जेनजी समुहले दिउँसो आगजनी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै सरकार विरुद्ध चर्को नाराबाजीसहित एमाले जिल्ला पार्टी कार्यालय पुगेका प्रदर्शनकारीहरुले कार्यालयबाट फर्निचर लगायतका विभिन्न सामाग्री बहिरा निकालेर आगजनी गरेको थियो ।
यसैगरी ऊनीहरुले सत्ता साझेदार काँग्रेस र जनमत पार्टीका कार्यालय पुगेर फर्निचरसहितका कार्यालय सामाग्री बाहिर निकालेर आगजनी गरे ।
‘ केपी तेरो पाराले दुख पायो साराले,,केपी चोर देश छोड, शेरे चोर देश छोड, हत्यारा सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद,प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दे, भ्रष्टचारी सरकार मुर्दावाद, यूवा मार्न पाईदैन, प्रहरी दमन मुर्दावाद, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीलाई जेल हाल’ लगायतका सरकार विरुद्ध चर्का नारा लगाउंदै यूवाहरु मंगलबार विहानदेखि आन्दोलनमा उत्रिका छन् ।
युवाहरू विहानैदेखि सडकमा उत्रीएपछि पूर्वपश्चिम राजमार्ग भएर चल्ने तथा सदरमुकाम राजविराजबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधन पूर्ण रुपले ठप्प भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएसम्म र गृहमन्त्री र प्रधानमन्त्रीलाई जेल नहालेसम्म आन्दोलन जारी राख्ने जेनजी आन्दोलनका सहभागीहरुले बताएका छन् ।
शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् ।
सोमबार काठमाडौमा जेनजी समूहको आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको थियो भने ४ सयबढी प्रदर्शनकारी घाइते भएका थिए ।
सरकारले बल प्रयोग गरि बालबालिकाहरुको ज्यान लिएको र अंगभंग तथा घाइते बनाएको विरुद्ध अहिले देशभर प्रदर्शन भइरहेको छ । आन्दोलनकारीहरुले मन्त्री देखी विभिन्न नेता तथा पार्टी कार्यालय,सरकारी कार्यालयहरुमा आगजनी गर्ने क्रम जारी राखेको छ ।
आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको झडपमा प्रहरीले प्रहार गरेको लाठी चार्ज र गोली लागि दर्जनौं घाइते भएका छन् भने मंगलबार समेत आधादर्जन प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।