• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेकपा एमाले सप्तरीको कार्यालयमा आगजनी

नेकपा एमाले सप्तरीको कार्यालयमा आगजनी
न्यूज टुडे
राजविराज ,२४ भदौ । 
काठमाडौमा सोमबार भएको नरसंहारको विरुद्ध आन्दोलनमा उत्रिएका जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का आन्दोलनकारीहरुले नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा मंगलबार आगजनी गरेको छ ।  राजविराज ८ स्थित मदननगरमा रहेको एमाले पार्टी जिल्ला कार्यालयमा आक्रोशित जेनजी समुहले दिउँसो आगजनी गरेको हो । 
प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै सरकार विरुद्ध चर्को नाराबाजीसहित एमाले जिल्ला पार्टी कार्यालय पुगेका प्रदर्शनकारीहरुले  कार्यालयबाट फर्निचर लगायतका विभिन्न सामाग्री बहिरा निकालेर आगजनी गरेको थियो 
‘ केपी तेरो पाराले दुख पायो साराले,,केपी चोर देश छोड, शेरे चोर देश छोड, हत्यारा सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद,प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दे, भ्रष्टचारी सरकार मुर्दावाद, यूवा मार्न पाईदैन, प्रहरी दमन मुर्दावाद, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीलाई जेल हाल’ लगायतका सरकार विरुद्ध चर्का नारा लगाउंदै यूवाहरु मंगलबार विहानदेखि आन्दोलनमा  उत्रिका छन् । 
युवाहरू विहानैदेखि सडकमा उत्रीएपछि पूर्वपश्चिम राजमार्ग भएर चल्ने तथा सदरमुकाम राजविराजबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधन पूर्ण रुपले ठप्प भएको छ । 
प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएसम्म र गृहमन्त्री र प्रधानमन्त्रीलाई जेल नहालेसम्म आन्दोलन जारी राख्ने जेनजी आन्दोलनका सहभागीहरुले बताएका छन् । 
शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए  थप सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् । 
सोमबार काठमाडौमा जेनजी समूहको आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको थियो भने ४ सयबढी प्रदर्शनकारी घाइते भएका थिए । 
सरकारले बल प्रयोग गरि बालबालिकाहरुको ज्यान लिएको र अंगभंग तथा घाइते बनाएको विरुद्ध अहिले देशभर प्रदर्शन भइरहेको छ ।  आन्दोलनकारीहरुले मन्त्री देखी विभिन्न नेता तथा पार्टी कार्यालय,सरकारी कार्यालयहरुमा आगजनी गर्ने क्रम जारी राखेको छ । 
आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको झडपमा प्रहरीले प्रहार गरेको लाठी चार्ज र गोली लागि दर्जनौं घाइते भएका छन् भने मंगलबार समेत आधादर्जन प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।