न्यूज टुडे
राजविराज,२४ भदौ ।
काठमाडौमा सोमबार भएको नरसंहारको विरुद्ध सप्तरीमा मंगलबार जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का आन्दोलन चर्कीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गर्दै सदरमुकाम राजविराजसहित जेनजीले विहानदेखि आन्दोलन जारी राखेको हो ।
जीनजी समुहले गरेको विरोध प्रदर्शन पछि विभिन्न बजार तथा पसलहरु बन्द रहेको छ भने पूर्वपश्चिम राजमार्ग तथा हुलाकी मार्ग भएर चल्ने लामो तथा छोटो दुरीको सम्पूर्ण सवारी साधन ठप्प भएका छन् ।
‘केपी चोर देश छोड, शेरे चोर देश छोड, हत्यारा सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद,प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दे, भ्रष्टचारी सरकार मुर्दावाद, यूवा मार्न पाईदैन, प्रहरी दमन मुर्दावाद, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीलाई जेल हाल’ लगायतका सरकार विरुद्ध चर्का नारा लगाउंदै यूवाहरु सडक उत्रिका छन् ।
युवाहरू विहानैदेखि सडकमा उत्रीएपछि पूर्वपश्चिम राजमार्ग भएर चल्ने छोटो तथा लामो दुरीको सवारी साधन पूर्ण रुपले बन्द हुँदा सयौं सवारी साधन सडकमै अलपत्र परेको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएसम्म र गृहमन्त्री र प्रधानमन्त्रीलाई जेल नहालेसम्म आन्दोलन जारी राख्ने जेनजी आन्दोलनका सहभागीहरुले बताएका छन् ।
शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् ।
भ्रष्टाचार विरुद्ध तथा सामाजिक संजालमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै जेनजी समुहले काठमाडौमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौंको संख्यामा अंगभंग तथा गम्भीर घाइते भएका छन् ।