• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
संघीय राजधानी काठमाण्डौंको बानेश्वर क्षेत्र सोमबार रणभूमि बन्यो । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधका क्रममा जेनजीले प्रदर्शन गर्दा ब्यापक दमन भएको र त्यस क्रममा धेरैको मृत्यु भएको छ ।
प्रहरीले ब्यापक दमन गर्दा कैयौंको ज्यान गएको छ र घाईते भएकाहरुले अस्पताल खचाखच भरिएको छ । निहत्था प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली वर्षाएर, अश्रुग्याँस प्रहार गरेर उग्र दमन भएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना सुरु भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अघि बढ्दैमा ज्यानै जाने गरी गोली हान्ने काम किमार्थ उचित हुन सक्दैन । यसमा क्षति कम होस् भन्ने उद्देश्यका साथ बढी भन्दा बढी संयमता आवश्यक रहन्छ । सरकारी पक्षबाटै ज्यानै जानेगरी गोली हान्ने, घाइतेहरु उपचाररत अस्पताल तथा चिकित्सक र विरामी समेतलाई बस्न नसक्ने गरी धुँवा पुग्ने हिसाबले अश्रु ग्याँस प्रहार गर्दा आन्दोलन त झनै उग्र बन्छ नै । सात दिनभित्र दर्ताको समय दिएर विकल्प बिना नै एकाएक विभिन्न सामाजिक सञ्जालमाथि सरकारले रोक लगाउँदा अन्य जनमानस झैं विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । 
उनीहरुले सरकारको यस कदमको विरोध तथा बढ्दो भ्रष्टाचारको विषयलाई मुद्दा बनाएर सोमबार प्रदर्शन गर्दै छन् भन्ने कुरा सरकारलाई पनि जानकारी नरहेको विषय थिएन । प्रदर्शनमा क्षति कम होस भन्नेतर्फ होस पु¥याएर संयमता अपनाउन सकेर भए अवश्य पनि यत्रोविघ्न क्षति हुने थिएन ।