नर्मदेव यादव
रुपनी, २३ भदौ ।
सप्तरीको रुपनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै चक्काजाम र विरोध प्रदर्शन गरिएको छ । भ्रष्टाचार विरुद्ध तथा सामाजिक संजाल खुल्ला राख्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रेका जेनजीका टोलीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको विरुद्धमा सोमबार स्थानीय युवहरुले राजमार्ग अवरुद्ध गरि विरोध प्रदर्शन तथा १ घण्टा चक्काजाम गरेको हो ।
सरकारले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरि दर्जनौं व्यक्तिको ज्यान लिएको तथा सयौं व्यक्तिलाई अंगभंग हुने गरि घाइते बनाएको भन्दै स्थानीय यूवाहरुले आक्रोश व्यक्त गर्दै पूर्वपश्चिम राजमार्ग साँझ ५ बजेदेखि ६ बजेसम्म अवरुद्ध गरि सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
केपी ओली राजिनामा दे, युवा मार्न पाइदैन,ओली सरकार मुर्दावाद, भ्रष्टाचारी सरकार मुर्दावाद गृहमन्त्री रमेश लेखक मुर्दावाद, प्रधानमन्त्री केपी ओली मुर्दावाद, प्रहरी दमन बन्द गर जस्ता सरकार विरुद्ध चर्का नारा लगाउँदै यूवाहरु सडकमा उत्रिएका थिए ।
बन्दका कारण सयौं सवारी साधन सडकमै रोकिएको थियो भने हजारौं यात्रुहरु अलपत्र परेका थिए ।
काठमाडौमा भ्रष्टाचार विरुद्ध तथा सामाजिक संजाल खुल्ला राख्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रेका जेनजीका टोलीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा दर्जनौं मृत्यु भएको थियो भने सयौं आन्दोलनकारी घाइते भएका छन् ।
काठमाडौ आन्दोलनमा भएको प्रहरी दमन विरुद्ध सुनसरीको इटहरीमा भएको प्रदर्शनमा समेत प्रहरीले गोली चलाउँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।