न्यूज टुडे
राजविराज , २१ भदौ।
दलित सरोकार मञ्च नेपाल, सप्तरीको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको हाे । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित मञ्चको सभाहलमा शनिबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले अध्यक्ष शिवप्रसाद मण्डल सरवरियाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति विवरण तथा चालु आ.व. २०८१/८२ को प्रस्तावित कार्यक्रम पारित गरिएको थियो ।
यसैगरी कार्यसमितिको तर्फबाट कोषाध्यक्ष कुशै सदाले पेश गर्नुभएको २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पनि सर्वसम्मत पारित गरिएको जनाएको छ ।
मञ्चको साधारणसभामा आगामी कार्ययोजना सार्वजनिक गर्दै गरिब, सीमान्तीकृत तथा दलित समुदायको पारिवारिक विवरण तथा नागरिकता अभिलेख संकलन गर्ने, मतदाता नामावलीमा नाम छुटेकाहरू, जन्म, मृत्यु तथा बसाइँसराइको अवस्था अध्ययन गर्ने योजना ल्याएको मञ्चका कार्यक्रम संयोजक राज कुमार पासवानले जानकारी दिए ।।
यसैगरी दलित विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने, समुदायको अधिकारसम्बन्धी तथ्यमा आधारित अध्ययन प्रतिवेदन तथा पुस्तक प्रकाशन गर्ने र मञ्चको आपनो १०औं वार्षिकोत्सव भव्य रूपमा मनाउने निर्णय गरिएको उनले जानकारी दिए ।
मञ्चका अध्यक्ष सरवरियाको अध्यक्षतामा आयोजित साधारणसभामा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले मञ्चको आगामी कार्यदिशा र मार्गनिर्देशनबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।