• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज हटियाको कृष्णमन्दिर नजिकैको खुला नालाभित्रबाट गएको खानेपानीको पाइप फूल्दा त्यहाँबाट पानीको छिर्का निस्कने गरेको धेरै दिन भईसकेको छ । तर यसका बारेमा न त नगरपालिकाले कुनै चासो राखेको छ न खानेपानी कार्यालयले नै त्यसको मर्मत सम्भार गरेको छ ।
पानी वितरणको समुदायमा प्रेसरले पाईप फुटेको ठाउँबाट पानी बाहिर निस्कन्छ तर वितरण रोकेका बखत नालाको दूषित पानी खानेपानीको पाईपभित्र छिरेर त्यसलाई समेत दूषित गराउने भएका कारण जनस्वास्थ्यका दृष्टिले यसलाई गम्भीर रुपबाट लिनु पर्ने हुन्छ । खानेपानी दूषित भएकै कारण यतिबेला बीरगञ्जमा झाडापखाला  (हैजा) फैलेर ‘आउटब्रेक’ को अवस्थामा पुगेको भन्ने समाचार आईरहेको छ । त्यसबाट पाठ सिक्दै शुद्ध तथा स्वस्थकर पिउने पानी उपलब्ध गराउनेतर्फ चासो राख्नु पर्नेमा पाईप फूटेर ढल नालासित पानी मिसिँदा पनि खानेपानी कार्यालय र नगरपालिका कानमा तेल हालेर सुत्छन् भने भविष्यमा राजविराजमा पनि हैजाको महामारी फैलियो भने त्यसको जिम्मेवारी कसले लिने? प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न सकिँदैन । राजविराज नगर क्षेत्रमा वर्षौ पुराना जिआई पाइपबाट खानेपानी वितरण हुँदै आएको छ । ती पाइपहरु खिया लागेर मक्किएको र ठाउँ–ठाउँ फूटेका कारणले खानेपानी दूषित बन्ने गरेको छ ।
ढल नालाको फोहरमा हैजाका जीवाणु पनि हुने भएका कारणले जनताको स्वास्थ्यप्रतिको यस्तो गम्भीर लापरवाही गरिनुलाई उचित मान्न सकिँदैन । महशुल तिरेर पानीको प्रयोग गर्दै आएका उपभोक्तामाथि समेत अन्याय भईरहेको रुपमा यसलाई लिँदै बेथिति सुधारमा सम्बन्धित निकायले ध्यान पुर्याउन  आवश्यक छ ।