न्यूज टुडे
राजविराज, १८ भदौ ।
संघीय लोकतान्त्रिक मोर्चा आवद्ध नेताहरूले पहिचान, प्रतिनिधि, अधिकार सुनिश्चितताको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मुक्ति पार्टीको समन्वयमा मोर्चाद्वारा राजविराजमा बुधबार आयोजित बर्तमान राजनीतिक अवस्थाक सन्दर्भमै जनजागरण अभियानलाई सम्बोधन गर्दै ऊनीहरुले यस्तो जोड दिएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी सप्तरीका अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मोर्चाका नेताहरुले संघीयता, पहिचान, अधिकार र भूमि विधेयकको विषय उठाउँदै आन्दोलनको विकल्प नरहेको बताए ।
संघीय लोकतान्त्रिक मोर्चाआबद्ध शीर्ष नेताहरूले संघीयता, पहिचान, अधिकार र भूमि विधेयकका विषयमा सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
नेताहरूले भूमि विधेयक मधेशी र भूमिहीनका हितविपरीत रहेको र सरकारको नीति मधेसी विरोधी भएको आरोप लगाउँदै निर्णायक संघर्षको आवश्यकता औंल्याएका छन्।

सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले मधेशी नेतृत्वलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको जिकिर गरे।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीयता नक्कली रहेको बताए । ‘बाँदरको पुच्छर लौरो न हतियार जस्तै हो अहिलेको संघीयता,’ उनले भने, ‘संघीयतामा आफ्नो, शासन–प्रशासन, प्रहरी र कर्मचारी हुन्छ । तर, अहिले छ त ? संघीयता नै नक्कली हो ।’
वास्तविक संघीयता चाहिएको भन्दै अध्यक्ष यादवले संघीयताको संरचना पनि गलत रहेको बताए । ‘मधेश प्रदेशबाहेकमा एकल जातीय बाहुल्यता छ, सबैको पहिचान र अधिकार सुनिश्चित गर्न सकिएको छ,’ उनले भने, ‘पहाडमा पनि सबै समुदायको पहिचानका आधारमा अधिकार सम्पन्न प्रदेश हुनुपर्छ ।’ मधेशीलाई सदाका लागि शोषण गर्न भूमि विधेयक ल्याउन लागेको भन्दै उनले आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा मधेशीको जन्म नै संघर्षका लागि भएको बताए । ‘अहिलेको विषम परिस्थितिमा भाग्नु हुँदैन,’ उनले भने, ‘भूमि विधेयकले चूरेको विनाश निश्चित छ, चूरे बचाउनका लागि संघर्ष गर्नैपर्छ ।’
वीस वर्षदेखि चूरे विनाश भइरहेको बताउँदै उनले संघर्ष गरेर चूरे बचाउन सकिएन भने अबको वर्षमा मधेशका भूमि मरुभूमिमा परिणत हुने बताए ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारविरुद्ध निर्णायक आन्दोलन नै एक मात्र विकल्प रहेको बताए । ‘कांग्रेस–कम्युनिस्टको लुटेरा सरकारले यतिका काण्ड गरिसके कि अब देशमा केही पनि ठीकठाक छैन,’ उनले भने, ‘उत्पीडनमा परेका समुदायले अझै अधिकार र पहिचान पाएका छैनन्, सरकार भने आफ्नै तालमा हिँड्या छ ।’
उनले भूमि विधेयक पनि आफ्ना आसेपासेका लागि ल्याएकाले आन्दोलनको विकल्प नरहेको बताए
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले ल्याउन लागेको भूमि विधेयक भूमिहीनका लागि नभई अतिक्रमणकारी लागि ल्याएको बताए । ‘पहिला ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई पनि अलिकति बिगारेर सरकारले यो विधेयक ल्याएको हो,’ उनले भने, ‘डरलाग्दो पक्ष त के छ भने विधेयकमा अव्यवस्थित बसोबासी भन्ने शब्द छ तर यो कानूनको शब्द हुँदै होइन ।’
बसोबासी व्यवस्थित नै हुने गरेको भन्दै अध्यक्ष त्रिपाठीले अव्यवस्थित बसोबासी भनेर अतिक्रमणकारीका लागि विधेयक ल्याउन लागेको स्पष्ट पारे । ‘उनीहरुले वन क्षेत्रको जग्गा, आरक्षको जग्गा र मध्यवर्ती जग्गामा मज्जाले बसोबास गरिरहेका छन्,’ उनले थपे, ‘तिनीहरुलाई नै जग्गा दिन यो विधेयक ल्याएको हो, भूमिहीनका लागि हुँदैन होइन ।’
यो विधेयकले स्थानीय सरकार प्रदेशको पनि अधिकार क्षेत्रमा हस्तक्षेप हुने उनको भनाइ छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को अध्यक्ष वृषेशचन्द्र लालले वर्तमान सरकारले मधेशी नेतृत्वलाई कमजोर पार्न षड्यन्त्र गरिरहेको बताए । ‘भूमि विधेयक पारित हुन नदिँदा विशुद्ध राजनीतिक घटनालाई सरकारले अनर्गल प्रचार गरेर मधेशी नेतृत्वलाई कमजोर पार्ने खेलमा लागेको छ,’ उनले भने,‘ छानबिनबाट हामी डराएका छैनौं तर निष्पक्ष हुनुपर्यो नि, पूर्वाग्रही ढंगले अघि बढे मोर्चा प्रतिकार गर्छ ।’
नागरिक उन्मुक्ति पार्टीकी कोषाध्यक्ष टिकालक्ष्मी चौधरीले राज्यको विभेदकारी नीतिको विरुद्ध उत्पीडित जाती समुदाय एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले जयप्रकाश प्रसाद गुप्ता, विजय गच्छदार, रेशमलाल चौधरी, रवि लामिछाने, माधव नेपाललाई राजनीतिक प्रतिशोध लिएको भन्दै अहिले उपेन्द्र यादव विरुद्ध सरकार लागेको बताइन् ।
उनले ओली नेतृत्व सरकारको सर्वसत्तावादी नीति , अहंकार र दुइदलिय व्यवस्थाको विरुद्ध पहिचान र परिबर्तनका पक्षधर पार्टी वीच एकता गर्नुपर्ने बताइन् ।
राष्ट्रिय मुक्ति पार्टीका नेता गजेन्द्र मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत लोसपा महासचिव विनोद कुमार सिंहले गरे भने जनजागरण कार्यक्रमको औचित्यता तथा आवश्यकता बारे जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव प्रकाश पारेका थिए ।
जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा सम्पन्न कार्यक्रममा मोर्चा आवद्ध ६ वटै दलका शिर्ष नेता तथा केन्द्र, प्रदेश, जिल्लाका अगुवा नेताकार्यकर्ता उपस्थिति रहेका थिए ।